नयाँ सरकार गठनका लागि बाटो खुला गरिदिनुपर्छः कांग्रेस

बुधबार, २४ जेठ २०८०
विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुल्ला गरिदिनुपर्ने बताएको छ । अल्पमतमा परेको सरकारले अध्यादेशमार्फत बजेट ल्याउनुभन्दा नयाँ सरकारलाई मार्ग प्रशस्त गरिदिनुपर्ने कांग्रेसले जनाएको छ । ‘सरकारले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको छ,’ नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले भने, ‘अल्पमतमा पर्ने बित्तिकै बिजनेश अभाव भएको भन्दै सदन अनिश्चितकालका लागि स्थगन गर्न हुँदैन ।’ बुधवार बसेको कांग्रेस संसदीय दलको बैठकले अहिलेको सरकारले सदनलाई बन्धक बनाएको निष्कर्ष निकालेको उनले बताए । मुख्यमन्त्री कार्कीले राजीनामा दिएर नयाँ सरकारका लागि मार्गप्रशस्त गरिदिनुपर्ने उनले बताए । सरकारबाट नेकपा माओवादी केन्द्र र जसपा बाहिरिएपछि अल्पमतमा परेको सरकारले बुधवार संसद्मा नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको थियो । सरकारको अंकगणितमा तलमाथि परेको भन्दै सरकारले नीति तथा कार्यक्रम संसद्मा पेश गर्न नसक्ने भएको भन्दै बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । अल्पमतमा परेपछि बिजनेश नै अभाव देखाएर प्रदेशसभा बैठक समेत अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेसको आरोप छ । सदनलाई बन्धक बनाउनुभन्दा अगाडि नै राजीनामा दिएर बाटो खुला गर्नुपर्ने कांग्रेसको भनाइ छ । यसैबीच, कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्दै अल्पमतमा परेको सरकारले नैतिक रुपमा राजीनामा दिएर लोकतान्त्रिक मान्यताअनुरुप आगामी सरकार निर्माण गर्न मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै 'नागरिकका आवाज बोल्ने संसद जस्तो गरिमामय सभालाई अल्पमतमा रहेको सरकारले बन्धक बनाउन खोजी प्रदेशको नीति तथा कार्यक्रम र बजेट अध्यादेश मार्फत् ल्याउनका लागि गरिएको कदमप्रति कांग्रेस संसदीय दल कोशी प्रदेश घोर भत्र्सना गर्दछ' भनेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार