काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलन र त्यस क्रममा भएका घटनाहरुका सन्दर्भमा सरकारसँग जवाफ मागेको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर एमाले सचिव योगेश भट्टराईले सरकारसँग जवाफ माग गरेका हुन् ।
प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभामा रहेको र त्यसअनुसार प्रदेश सभाले नाम तोकेको उल्लेख गर्दै उनले नाम तोकिसकेपछि भएको आन्दोलन र त्यसक्रममा भएका घटनाहरुका सन्दर्भमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गरेका हुन् ।
मधेश प्रदेश नाम राख्दा ९३ जनाले सोही नाममा समर्थन जनाएको र बाँकी ४ जनाले असहमति जनाएको बताए ।
मधेश प्रदेशको नाम राख्दा एमालेले जानकी राख्ने भने तापनि मतदानबाट मधेश प्रदेशको नाममा बहुमत पुगेकाले लोकतान्त्रिक पद्धति अनुसार भएको निर्णयलाई मानेको बताए । तर, अहिले कोशी नाम राख्दा एमालेविरुद्ध केन्द्रित गरेर आन्दोलन भएको उनको दाबी छ ।
केही महिना अगाडि एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टीका संसदीय दलका उपनेता, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लगायतको शीर्ष नेतृत्वको टोली पूर्वको बिभिन्न क्षेत्रमा भ्रमण गर्न जाँदा झापाको चारआलीदेखि इलाम, पाँचथर र तेह्रथुमसम्म पुग्दा सडकहरुमा अवरोध सिर्जना गर्ने, रुखहरु ढाल्ने, गाडीमा ढुंगामुढा गर्ने, कालो झण्डा देखाउने कार्य भएको उनले स्मरण गरे ।
प्रतिक्रिया