थप तीनको मृत्यु, २७ जना अझै बेपत्ता

मंगलबार, ०५ असार २०८०
विराटनगर । बाढीपहिरोमा परी पूर्वी पहाडका ताप्लेजुङ र संखुवासभामा सोमबार थप तीन जनाको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोले बगाउँदा बाबुछोराको मृत्यु भएको छ । यस्तै, संखुवासभाको पाँचखपन–५ स्थित हेवा खोला किनारमा सोमबार एक शव भेटिएको छ । उक्त शवको सोमबार बेलुकासम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । मेहेलेमा सोमबार बिहान गएको पहिरोले केशरकुमार राई र उनका छोरा सुरेशसहित छिमेकी राजकुमार राईलाई पहिरोले बगाएको थियो । बेपत्ता केशर अढाई घण्टापछि झन्डै चार सय मिटर तल मृत अवस्थामा फेला परेका थिए । बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ र पाँचथरमा बेपत्ता भएकामध्ये २७ जना अझै फेला परेका छैनन् । वर्षा नरोकिँदा र सडक अवरुद्ध भएकाले बेपत्ताको खोजीमा समस्या भइरहेको सुरक्षा अधिकारीले बताएका छन् । संखुवासभामा बाढीले बगाएर शनिबार राति बेपत्ता सुपर हेवा हाइड्रोपावरका १८ जना मजदुरको खोजीमा २ सय ५० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार