अरुलाई नागरिकता दिलाएको आरोपमा लेटाङबाट भूपू बेलायती सैनिक पक्राउ

मंगलबार, ०५ असार २०८०
विराटनगर ।  आफू बाबु बनेर अरु व्यक्तिहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा प्रहरीले मोरङको लेटाङबाट भूतपूर्व बेलायती सैनिकलाई पक्राउ गरेको छ । अवकाशप्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बू मंगलबार बिहान गाउँबाटै पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार लिम्बूले नक्कली बाबु बनेर धेरै जनालाई नेपाली नागरिकता दिलाएको आशंका छ । नक्कली बाबु बनेर अरुलाई नागरिकता दिलाएको विषय बाहिरिएपछि अनुसन्धान एवं कारबाहीका लागि पक्राउ गरिएको उनी बताउँछन् । दाहालका अनुसार यस घटनामा लिम्बूको कुन ‘लेभल’को संलग्नता छ र उनले कति जनालाई नागरिकता दिलाएभन्ने बारेमा अनुसन्धानपछि पत्ता लाग्ने छ । प्रहरी स्रोतका अनुसार उनले मोरङसहित अन्य जिल्लाका व्यक्तिहरुलाई नागरिकता दिलाएको र बाबु बनेर नागरिकतामा आफूले सनाखत गरेको खुलेको छ । प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा लिम्बूलाई पक्राउ गरिएको हो । थप अनुसन्धानका लागि उनलाई लेटाङबाट विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय ल्याइँदै छ । लिम्बू बेलायतका अवकाश प्राप्त सैनिक हुन् । बेलायती सैनिकमा भर्ना गरिदिनेभन्दै लिम्बूले आफू बाबु बनेर अन्य व्यक्तिहरुलाई नेपाली नागरिकता बनाइदिएको प्रहरी स्रोतको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार