अन्तुको पर्यटन : आधुनिकता भित्र्याउने कि मौलिकता जोगाउने ?

बुधबार, ०६ असार २०८०
युवराज गौतम सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि नेपालकै प्रख्यात मानिएको पूर्वी इलामको अन्तुमा पर्यटकको हब हो । विगत भन्दा यतिबेला अन्तुमा पर्यटन व्यवसाय मज्जाले फस्टाएको छ । स्थानीय सरकार बनेपछि भित्रिएका पूर्वाधार विकासका नयाँ योजनाहरुले अन्तुलाई सिंगारेको मात्र नभइ उचाइ पनि उत्तिकै दिएको छ । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै ठाउँ नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन शासक लेप्चा जातिको लोपोन्मुख संस्कृति, कृषिबाट सुधारिएको जीवनशैली, व्यावासयिक फूलखेती, थुम्काथुम्कामा मौलाएको हरियाली चियाबारीलगायतले पनि प्रख्यात छ । अन्तु पोखरीको सुधार गर्दै पोखरीमा डुङ्गा चलाएपछि पर्यटक झनै लोभिएका छन् । अन्तुका हरेक डाँडा मनमोहक छन् । जुनसुकै डाँडामा उभिएर कञ्चनजङ्घा हिमाल, सीमापारिका दार्जिलिङ, खरसाङ, मिरिकलगायत ठाउँ नियाल्न सकिन्छ । चिसो मौसम, स्वच्छ हावापानीले अन्तुको भिन्न पहिचान झल्काएको छ । जातीय झाँकी, पुरातात्विक वस्तुको सङ्ग्रहालय, पुष्प र कृषि प्रदर्शनी पर्यटक भुल्याउने माध्यम बनेका छन् । सिरुबारी र घलेगाउपछि नेपाल पर्यटन बोर्डले अन्तुलाई ग्रामीण पर्यटनको सूचीमा राखेपछि यसले थप उचाइ लिएको मानिन्छ । अन्तुका होमस्टेमा पाइने ढिंडो, कोदो, फापरको रोटी, अर्गानिक अर्थोडक्स चिया, लोकल कुखुराको मासु, लोकल चामलको भात, गुन्द्रुक, भुटेको मकै, तोङ्बा र स्थानीय उत्पादनको रक्सी खाएर पर्यटकले जिब्रो फड्कार्छन । कोणधारी धूपी, सल्ला, झुम्का झुम्का अलैंची र डाँडाभरी फैलिएको चिया बगानमा रमाउनेहरुको ताँती लाग्छ । पछिल्लो समय अन्तु थप झकिझकाउ पनि भएको छ । भ्यू टावरले डाँडालाई थप आकर्षक बनाएको छ । पोखरी वरिपरि सोलार बत्ती, पक्की सडक, ठाउँ ठाउँमा आकर्षक सिंढी निर्माणले अन्तुलाई थप आकर्षक बनाएको छ । स्थानीय सरकारको सक्रियताले अन्तु कंक्रिटमय बनिरहेको छ । वि.स २०५५ सालतिर ‘पेइङ गेष्ट’को अवधारणा अनुसार पूर्वी नेपालमा पहिलो पटक अन्तुमा होम स्टे शुरु भएको इतिहास छ । वास्तवमा अन्तु सूर्योदय दृश्यावलकोन र होम स्टेकै कारण प्रख्यात भयो । अन्तु र समाल्बुङमा निर्माण भएका स–साना चिरिच्याट्ट परेका मौलिक घरमा बास बसेर पर्यटकहरु सूर्यको पहिलो झुल्को हेर्न डाँडामा उक्लिछन् । मजा लिन्छन् । घरबास गर्दा परिवारसँगै बसेर जे पाक्छ त्यही खान्छन् । अंगेनाको डिलमा बसेर गफिन्छन् । ढकमक्क फुलेका बेगुनिया अगाडि बसेर फोटो खिच्छन । लोकल पिउँछन र भिन्न आनन्द लिइरहेका छन् । तर अन्तु विस्तारै कंक्रिटमय हुँदै जाँदा चिन्ता पनि थपिदै गएको छ । हुक्काघर, विदेशी रक्सीले सजिएका रेष्टुरेन्ट खुल्न थालेका छन् । धुप्पी र सल्लाका काठबाट बनेका मगमगाउँदा साना घरहरु ओझेल पर्दै गइरहेका छन् । होटल, गेष्टहाउस, बार र रेष्टुरेन्ट शैलीमा खुलेका कंक्रिट घरमा होम स्टेका बोर्ड टाँसिने चलन शुरु भएको छ । समय र शैली बदलिएको छ । मानिसहरुले मौलिकता रोज्नैपर्छ भन्ने बाध्यता त्याग्न थालेका छन् । यसो हुनुमा हाम्रो गम्भीर कमजोरीहरु छन् । स्थानीय सरकारले कंक्रिट र आधुनिकतालाई प्राथमिकता दिनु, मौलिकता जोगाउने अवधारणा नल्याउनु, अन्तुलाई व्यवस्थित अन्तु बनाउने भन्दा पनि आधुनिक अन्तु बनाउनेतर्फ उन्मुख हुँदै जानु, होटल संचालक र होम स्टे संचालकबीच मत भिन्नता बढ्नु अर्थात सुरताल मिल्न नसक्नु अन्तुका लागि दुर्भाग्य बन्दै गइरहेको छ । सूर्यको भाकल गरेर पूजा गरे आफ्नो मनोकामना पूरा हुन्छ भन्दै टाढा टाढाबाट मानिसहरु आउने अनि गाउँलेहरुसँग बास माग्ने चलन हराउँदै गइरहेको छ । घरमा बास बस्ने, घरवालाले उत्पादन गरेको गुन्द्रुक–सिन्कीसँग खाना खाने, घरवालाले नै उत्पादन गरेको हाते चियाको चुस्की लिने परम्परा हराउन थालेको छ । घरका मान्छेले दिएको गुन्द्रीमा सुत्ने र बिहानै सुर्योदय हेरेर गाउँ फन्को लगाउने चलन हराउँदै गइरहेको छ । मौलिकता जोगाउन सरकारलाई नै कठिन परिरहेको भान हुन्छ । अन्तुमा पुग्ने पर्यटक स्थानीय रहनसहनमा रमाउने भन्दा पनि आधुनिक र सुविधा सम्पन्न होटल रेष्टुरेन्टमा रोमान्स गर्न व्यस्त देखिन्छन् । वास्तवमा अन्तु प्रेम जोडीलाई रात विताउने स्टेसन मात्रै बन्ने खतरा देखिएको छ । सरकारले पर्यटक भुल्याउन भरपर्दो नयाँ योजना र रणनीति ल्याउन सकिरहेको छैन । मौलिकता जोगाउदै आसपासका पर्यटकीय स्थलहरुको विकासमा सरकारको ध्यान जानुपर्ने देखिन्छ । लाप्चा संग्राहलयको व्यवस्थापन, जातजातीको सांस्कृतिक पहिचान, चिया–पर्यटनको अवधारणा विकास, सुन गोहोरोको संरक्षणलगायत स्थानीय स्तरमा जे छ त्यसको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा स्थानीय सरकारको ध्यान नदिए अबको दश बर्षमा अन्तुको मौलिकता सखाप हुने देखिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार