झाप । भद्रपुरस्थित प्रादेशिक अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामीहरू भ्याक्सिन नलगाई फर्किन बाध्य भएका छन् ।
भ्याक्सिन अभाव हुँदा अस्पताल प्रशासनले जेठ २३ गते नै सेवा बन्द गरिएको भनी सूचना जारी गरेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले बताए । उनका अनुसार अस्पतालमा मासिक पाँच सय भ्याक्सिन खपत हुन्छ ।
‘१५ दिनदेखि अस्पतालमा भ्याक्सिन छैन’ पोखरेलले भने ‘कोशी प्रदेश सरकारसँग भ्याक्सिन माग गरेका थियौं तर त्यहाँ पनि नरहेको जानकारी आयो ।’
प्रदेश सरकारले खरिद गरेपछि मात्र अस्पताललाई भ्याक्सिन पठाउने र अनिमात्र सेवा दिन सकिने उनले बताए । संक्रमित कुकुर वा अन्य कुनै घरपालुवा तथा जङ्गली जनावरले टोकेलगत्तै रेबिज रोगविरुद्धको भ्याक्सिन लगाउनुपर्छ ।
अहिले जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा भ्याक्सिन नहुँदा बिरामीहरू समस्यामा परेका छन् ।
चिकित्सकहरुका अनुसार रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । गिदीमा सङ्क्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् ।
प्रतिक्रिया