बाढीपहिरो प्रभावित ताप्लेजुङका गाउँमा राहत

बुधबार, ०६ असार २०८०
विराटनगर । ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामग्री पुर्‍याइएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा बुधबार लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो । कोशी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री र टेन्ट तथा रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराएका त्रिपाल, कम्बल, भाँडाकुँडासहितका सामग्री पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । मेहेलेमा बाढी र पहिरोबाट विस्थापित बनेका एक सयभन्दा बढी परिवार स्थानीय निलगिरि माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका छन् । शनिवारदेखि वर्षासँगै आएको बाढी र पहिरोमा परी त्यस ठाउँका तीन जनाको ज्यान गएको छ भने एकै परिवारका तीनजना बेपत्ता छन् । पहिरोले स्वास्थ्य चौकीको भवन नै पुरेपछि औषधि अभाव भएको छ । मंगलवार बसेको बैठकले राहत र उद्धारका लागि विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार