जिम्मेवार र कर्तव्यनिष्ठ भएर राजश्व संकलनमा लाग्न अर्थमन्त्री डा. महतको निर्देशन

बुधबार, २० असार २०८०
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् । त्यस क्रममा उनले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो वर्ष र आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ भएर काम गर्नु पर्छ ।’ सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा नहेर्न, आग्रह गर्दै मन्त्री डा. महतले भने, ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’ व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् भन्दै उनले राम्रो काम गर्ने कर्मचारीहरुलाई धन्यवाद दिए । अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने भएको भन्दै मन्त्री महतले भने, ‘राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने श्रोत जुटाउने जिम्मेवारीमा हामी छौं । त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ । अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ’ मन्त्री डा। महतले भन्नुभयो, ‘हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौं । यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौं ।’ ‘सधैं भन्सारमा आधारित राजस्वमा निर्भर हुन नसकिने उल्लेख गर्दै उनले आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्ने र यो सुरु भइसकेको पनि बताए । उनले भने, ‘आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी छ, त्यसैले यसलाई कसरी विस्तार गर्ने भन्ने विषयमा चासो र चिन्ता छ । यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण हुन्छ ।’ आन्तरिक राजस्व विभागमार्फत् यसको दायरा वृद्धि गर्ने दुईवटा उपाय भएको मन्त्री डा. महतले बताए । उनले भने, ‘पहिलो हो, अर्थतन्त्र चलायमान बनाउन सकियो भने स्वतः कर लिने आधार वृद्धि हुन्छ । अर्को अहिलेकै अवस्थामा पनि जुन वर्ग समूह करको दायरामा आउनुपर्ने हो, उनीहरु आइरहेका छैनन् । उनीहरुलाई करको दायराभित्र ल्याएर कर संकलन बृद्धि गर्नुपर्नेछ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार