काठमाडौं । सूचना प्रविधिसम्बन्धी कम्पनीहरु गुगल, फेसबुक, माइक्रोसफ्ट नेपालको कर प्रणालीमा दर्ता भएका छन् । सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने घोषणा गरेपछि ती कम्पनीहरु कर प्रणालीमा जोडिएका हुन् । नेपालबाट उनीहरुले गर्ने कारोबारमा अब तोकिएको कर सरकारलाई बुझाउनु पर्ने छ ।
आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष माघदेखि अहिलेसम्म ६ वटा कम्पनी दर्ता भइसकेको राजस्व कार्यालयले जनाएको छ ।
विदेशमा रहेका कम्पनीले नेपालबाट आर्थिक कारोबार गरेमा करको दायरामा आउनुपर्छ । यसका लागि आन्तरिक राजस्व विभागले विदेशमै रहेर नेपालमा राजस्व तिर्ने प्रणाली विकास गरेपछि विदेशी कम्पनी प्यान नम्बर प्राप्त गरेर कर प्रणालीमा जोडिएका हुन् ।
नेपालमा दर्ता भएका सामाजिक सञ्जालले नेपालमा भएको कारोबार वापतको कर पठाउन मिल्ने डलर अकाउन्ट पनि विभागले राष्ट्र बैंकमा खोलेको छ ।
नेपालमा दर्ता भएर कारोबार गरेका त्यस्ता विदेशी कम्पनीले वैशाखसम्म बुझाउनु पर्ने विवरण र कर असार २५ गतेसम्म बुझाएमा त्यसमा शुल्क ब्याज नलाग्ने व्यवस्था विभागले गरेको थियो ।
दर्ता भएका कम्पनीले नेपालबाट भएका कारोबार आफैँ खुलाउनुपर्ने छ । सोही बमोजिम नेपाल सरकारले कर तिराउनेछ । नेपालमा आर्थिक कारोबार गर्ने तर कर नबुझाउने सामाजिक सञ्जालमाथि कारबाहीको दायरामा आउने विभागले जनाएको छ ।
सरकारले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडियाको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको थियो ।
सामाजिक सञ्जालमा आधारित सञ्चार माध्यमलाई औपचारिक दायरामा आउन प्रोत्साहन गर्नुका साथै नियमन गर्नका लागि कानुनी व्यवस्थामा सुधार गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया