काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउने बित्तिकै हाम्रो अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताएका छन् ।
आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री डा. महतले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा उनले भने, ‘‘मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजादाँ पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्छ । यो कुरालाई हामीले स्पष्ट ढंगबाट राष्ट्र बैंकको नेतृत्वलाई भनेका छौं । अब आउने मौद्रिक नीतिमा मार्जिनली पलेसी रेटमा सुधार गर्नुपर्ने आवश्यकता छ । मनिटरी पलेसीको टुल्सहरु समयसापेक्ष प्रयोग हुन आवश्यक छ ।’
अर्थतन्त्रलाई चलायमान बनाउन देशको मौद्रिक नीति महत्वपूर्ण पक्ष रहेको भन्दै उनले यसको सञ्चालन गर्न राष्ट्र बैंकलाई जिम्मा लगाएको बताए ।
अर्थमन्त्रीले भने, ‘अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले दिशानिर्देश गर्दै पनि आएको छ । कतिपय अवस्थामा कार्यान्वयन भएको छ, कतिपय अवस्थामा हुन बाकी छ’ मन्त्री डा। महतले भन्नुभयो, ‘यद्यपि राष्ट्र बैंकले स्वयत्त रुपमा काम गरोस् र समग्र अर्थतन्त्रको परिवेश के छ र मौद्रिक नीतिले यसमा कसरी योगदान पुर्याउन सक्छ भन्ने कुरालाई मध्यनजर राखेर नीति आओस् भनेर नै राष्ट्र बैंकलाई एक तहको स्वायत्तता दिएको हो ।’
राष्ट्र बैंकबाट आउने मौद्रिक नीतिका बारेमा बेलाबखत सरकार र सरोकारवालाले प्रश्न उठाउने गरेको मन्त्री डा. महतले बताए ।
‘मौद्रिक नीति र वित्त नीति समन्वयमा जानुपर्छ, त्यसको एउटै लक्ष्य हुनुपर्छ । मौद्रिक नीति एउटा बाटोमा, वित्त नीति अर्को बाटोमा लियो भने यसले लक्षित उद्देश्य प्राप्त हुँदैन’ उनले भने ।
व्याजदर अर्को महत्वपूर्ण पक्ष भएको उनले बताए । ‘कति व्याजमा ऋण प्राप्त हुन्छ भन्ने कुराले लगानीको लागत निर्धारण गरेको हुन्छ’, मन्त्री महतले भने, ‘ऋण लिनेहरुले प्रतिफल प्राप्त नहुँदा ऋण तिर्न गाह्रो भइरहेको छ । बैंकमा तरलता हुँदाहुँदै पनि ब्याजदरको कारणले पूँजी प्रवाह हुन सकेको छैन । यद्यपि हाम्रा अर्थतन्त्रलाई चलायमान गर्नुपर्ने आवश्यकता छ । चलायमान बनाउनका लागि समस्या आइरहेको छ ।’
प्रतिक्रिया