काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय संघसंस्थाले सुविधा पाएनौं मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सक्यो भने देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने बताएका छन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा मंगलबार आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा बोल्दै अर्थमन्त्रीले यस्तो बताउनुभएको हो ।
‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, हाम्रा सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर संघसंस्था लाग्यो भने यसले सकरात्मक नतिजा दिन्छ’ उनले भने ।
वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनैपर्नेमा जोड दिंदै उनले भने, ‘ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्छ । वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी छ ।’
बैंक र वित्तीय संस्थाहरुले कार्यपद्धति अन्तर्राष्ट्रियस्तर अपनाउने आशा गर्दै अर्थमन्त्री डा. महतले भने, ‘उपभोक्ताको अधिकार र सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने छन् भन्ने मलाई विश्वास छ, ‘बैंकिङ क्षेत्रको यति धेरै वृद्धि हुँदाहुँदै पनि अप्ठ्यारामा परेका बैंकलाई राष्ट्र बैंकको सहयोगमा सुधार भएको पाइन्छ । कृषि विकास बैंकमा पनि सुधारको आवश्यकता छ ।’
प्रतिक्रिया