झापा । नेत्र विक्रमचन्द नेतृत्वको नेकपाले झापाको गौरीगञ्जमा तीन बिगाहा जग्गा भाडामा लिएर सामूहिक धान खेती गर्न थालेको छ । कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय नीतिअन्तर्गत जग्गा भाडामा लिएर धान खेती गरिएको पार्टीका जिल्ला सेक्रेटरी सञ्जय सीले बताए ।
झापा जिल्ला पार्टी अन्तर्गतका नेता–कार्यकर्ता असार १० गते पश्चात् निरन्तर श्रम गरिरहेको पार्टीका जिल्ला इञ्चार्ज प्रशान्त सीले बताए ।
यतिबेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशैभर सयौं विगाहा क्षेत्रमा धान लगाइरहेको र पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता श्रमसँग जोडिएको पार्टीका मेची ब्यूरो इञ्चार्ज सुमनसिंह सीले बताए ।
कार्यकर्तासँगै धान रोपिरहेका उनले इलाम र पाँचथरमा चिया, अदुवा, अलैंचीलगायत खेती भइरहेको र झापामा धान रोपाइँ भएको बताउँदै अबको केही वर्षभित्रै आफ्नै उत्पादनमा पार्टीका नेता–कार्यकर्ता आत्मनिर्भर बन्ने नीतिका साथ पार्टी अगाडि बढिरहेको र धान खेतीमात्रै नभएर कृषि तथा पशुपालनलगायत क्षेत्रमा पनि काम शुरु भइसकेको बताए ।
यतिबेला नेपाल कम्युनिस्ट पार्टीले मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउने तथा सम्पूर्ण पार्टीका नेता–कार्यकर्ता अनिवार्य श्रम र उत्पादनसँग जोडिनुपर्छ भन्ने उद्देश्यका साथ देशैभर धान रोपाइँ अभियान चलाएको छ । उत्पादित चामल पार्टीलाई चलायमान बनाउन र नेता र कार्यकर्ताको भरणपोषणका लागि प्रयोग गरिने बताइएको छ ।
नेकपाले देशैभरका कार्यकर्तालाई असार १० देखि ३० गतेसम्म अनिवार्य उत्पादनसँग जोडिन भनेको छ ।
आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेताएवम् कार्यकर्ता नारा दिएर मुलुकभर यो अभियान चलाइएको विप्लप माओवादीले जनाएको छ ।
प्रतिक्रिया