घट्यो भारुको मूल्य, नेपाली बजारमा असर

शुक्रबार, २९ असार २०८०
झापा । भारतीय मुद्राको भाऊ घटेपछि यसको प्रभाव नेपाली बजारमा परेको छ । भारतीय मुद्रा नेपाली बैंक तथा सहकारीहरुले लिन नमानेपछि त्यसको प्रयोग नेपाली बजारमा घटेको हो । भारतीय मुद्राको भाउ घट्दा पूर्वी नेपालको प्रमुख नाका काँकडभिट्टा, भद्रपुरलगायत विभिन्न क्षेत्रमा असर परेको हो । भारतमा नेपाली मुद्रा नचल्ने हुनाले, भारतका विभिन्न बजारमा किनमेल, उपचार, तीर्थयात्रा, भ्रमण आदिका लागि जाने नेपालीहरुले सटही गरेर भारतीय मुद्रा बोक्नुपर्ने हुन्छ । यसले गर्दा झापाका काँकडभिट्टा, भद्रपुरलगायत ठाउँमा भारतीय मुद्रा सटही काउन्टरहरुले राम्रै व्यवसाय र सेवा प्रदान गरिरहेका थिए । तर विगत केही समयदेखि भारतीय मुद्राको भाउ घटेपछि यस्ता सटही काउन्टर सञ्चालकहरु चिन्तित बनेका छन् । कुनै समय भारतीय मुद्रा साट्नेहरुको भीड लाग्ने पूर्वी नेपालका सटही काउन्टरहरु सुनसान देखिन्छन् । १५ वर्षदेखि काँकडभिट्टामा सम्मान मनि चेन्जर प्रालि सञ्चालन गर्दै आएका मनोज राई पैसा साट्ने ग्राहक नभएपछि फुर्सदमा छन् । उनी भन्छन्, ‘अहिले व्यवसाय ठप्प छ तर के गर्नु लगानी गरेकाले पसल बन्द गरेर बस्न पनि मिलेन । बजारमा भारु छ्यापछ्याप्ती भएको हुनाले नेपाली पैसा दिएर भारु साट्न आउने मान्छे नै छैनन् ।’ सर्वसाधारण भने विगतमा नेपाली पैसा दिएर भारु सटही गर्दा थप रकम बट्टाको रुपमा तिर्नुपर्नेमा अहिले भने एक सय भारुको लागि नेपाली एक सय ६० रुपैयाँ अर्थात बराबर रकममा सजिलै भारतीय मुद्रा उपलब्ध हुने भएकाले हर्षित छन् । मुद्रा सटही व्यवसायी मकालु मनि चेन्जरका सञ्चालक इन्द्रप्रसाद मैनाली भारतीय मुद्राको भाउ घटेसँगै आफ्नो कारोबार घट्दा चिन्तित छन् । उनको आठ वर्षको अनुभवमा यस्तो पहिलोचोटि भएको हो । अरुबेला दैनिक चार–पाँच लाख रुपैयाँसम्म कारोबार हुने गरेकोमा अहिले मुस्किलले एक डेढ लाखको कारोबार हुने गरेको उनी बताउँछन् । ‘कारोवार नभएपछि कर्मचारी पाल्नै गार्हो भएको छ ।’ काँकडभिट्टामै १५ वर्षदेखि मुद्रा सटही काउन्टर सञ्चालन गर्दै आएका सिमाना मनि चेन्जरका सञ्चालक विवेक सिटौलाको पनि अवस्था त्यस्तै छ । उनका अनुसार, पहिलेभन्दा अहिले आधामात्रै कारोवार हुने गरेको छ । राष्ट्र बैंकले दिने १० लाख सम्मको कारोवार हुने गरेकोमा अहिले मुस्किलले तीन–चार लाखको कारोवार हुने गरेको छ । भारतीय मुद्राको भाउ घटेपछि होटल व्यवसायी र ट्राभल एजेन्सीहरु पनि मारमा परेका छन् । अढाइ दशकदेखि ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका लाइफलाइन टुर्स एन्ड ट्राभल्स प्रालि काँकडभिट्टाका बिनोद सिटौला पनि भारतीय मुद्राको भाउ घट्दा व्यापारमा ह्वात्तै गिरावट आएको बताउँछन् । उनका अनुसार पहिले दैनिक १५–२० वटा हवाई टिकट बुक हुने गरेकोमा अहिले दिनभर मुस्किलले पाँच–छवटा मात्र बुकिङ हुने गरेको छ । भारतबाट आउने अधिकांश पर्यटकहरु आसाम, सिक्किम, कालिम्पोङ, दार्जिलिङ, कोलकातालगायत विभिन्न ठाउँबाट नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्छन् । तर भारतीय मुद्राको भाउ घटेपछि यसरी प्रवेश गर्ने पर्यटकको संख्या ९० प्रतिशतले घटेको सिटौलाको भनाइ छ । बिश्वब्यापी कोरोना महामारीपछि बिस्तारै लयमा फर्किरहेको होटल व्यवसाय भारतीय मुद्राको भाउ घटेपछि पुनः संकटमा परेको होटल व्यवसाय संघ, मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) बताउँछन् । उनका अनुसार भारतीय मुद्राको भाउ घट्दा आफ्नो कारोबार र भारतबाट आउने पर्यटक दुबैमा कमी आउँदा बैंकबाट लिएको ऋण तिर्न नसकेर होटल व्यवसायीहरु पलायन हुने अवस्था आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार