इलाम । सिस्नो तरकारीका रुपमा प्रयोग गरिन्छ । यसको सुप खाने गरिन्छ । धेरैले यसलाई मन पराउँछन् । तर बजारमा सहज रुपमा पाउन भने सकिंदैन । त्यसैले कच्चा पदार्थ सिस्नोलाई प्याक गरेर बिक्री गर्न इलामकोे रोङ गाउँपालिका जुटेको छ ।
गुन्द्रुकको ब्राण्डिङ गरी बजार पठाउन सफल भएको गाउँपालिका पछिल्लो समय सिस्नोको ब्राण्डिङ गर्न जुटेको हो ।
बहुउपयागी मानिएको सिस्नो खोलाखोल्सामा पाइन्छ । यसलाई ब्राण्डिङ गर्न सके गाउँपालिकाको आम्दानी बढ्ने र किसान समेत ब्यवसायिक बन्ने भएपछि गाउँपालिका सिस्नो ब्राण्डिङमा जुटेको हो ।
किसानले खोलाखोल्साबाट टिपेर ल्याएको सिस्नो बजारमा हारालुछ बिक्री हुन्छ । यसलाई ब्राण्डिङ गरेर बजारमा लैजाँदा अन्तर्राष्ट्रिय स्तरमा समेत बिक्री गर्न सजिलो हुन्छ ।
यसअघि गाउँपालिकाले गुन्द्रुक समेत ब्राण्डिङ गरेर सफलता प्राप्त गरेको छ । सहकारी मार्फत किसानका बारीको साग सङ्कलन र प्रशोधन गरेर ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट तयार गरी बजारमा पठाइएको छ ।
‘रोङ गुन्द्रुक’ नाम राखेर ब्राण्ड गरिएको गुन्द्रुक अहिले नेपालका चलेका सुपर मार्केटमा समेत बिक्री भइरहेको छ । अमेरिकामा समेत उच्च माग रहेको गुन्द्रुक ठूलो परिमाणमा बिदेश समेत जाने गरेको छ ।
गुन्द्रुकमा सफल परीक्षण भएपछि सिस्नोको ब्रान्डिङ गरेर बजारीकरणको तयारीमा लागिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले बताए । उनले स्वास्थ्यका लागि समेत राम्रो मानिएको सिस्नो शहर तथा गाउँमा पनि राम्ररी रुचाइने बताए । सिस्नोको तरकारी तथा सुकाएर समेत खान राम्रो मानिन्छ । यसको बिशेष गरेर सुप बनाएर खाने गरिन्छ । तागतिलो बनस्पतिका रुपमा यसलाई लिइन्छ ।
पछिल्लो समय किसानले जंगली जनावारबाट समेत आजित हुनु परेको छ । अन्नबालीमा बाँदर लगायतका जनावरले खान थालेपछि किसान बैकल्पिक खेती गर्न थालेका छन् । सिस्नोमा काँडा हुने हुँदा जंगली जनावरले खासै खेदो नलाउने भएकाले पनि किसानलाई खेती गर्न सजिलो मानिन्छ ।
विभिन्न भिटामिन पाइने सिस्नो स्वास्थ्यका लागि लाभदायक मानिन्छ । गाउँपालिकाको अगुवाईमा सिस्नोको ब्रान्डिङका बिषयमा प्राविधिक अध्ययन भइसकेको अध्यक्ष स्याङ्बोको भनाई छ । यसको बाँकी काम तत्काल थालिने उहाँको भनाई छ । गाउँसभाबाट बजेट नै विनियोजन गरेर सिस्नोको ब्राण्डिङ गर्ने तयारी थालिएको बताइएको छ ।
बहुगुणी वनस्पति भएकाले नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा सजिलै खपत हुने विश्वास भएकाले पनि यसमा गाउँपालिका जुटेको अध्यक्ष स्याङ्बोको भनाई छ ।
‘रोङ गुन्द्रुक’, ’रोङ मह’, पछि सिस्नो ब्राण्डिङ र नाम राख्ने कार्यमा आफुहरु अघि बढेको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाई छ ।
प्रतिक्रिया