काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा जाँदैछन्। गोरखाको गण्डकी गाउँपालिका- ८ सिउरेनीटारमा रहेको बुढीगण्डकी जलविद्युत आयोजना फिल्ड कार्यालय उद्घाटन गर्न उनी आज त्यहाँ जान लागेका हुन् ।
सिउरेनीटारमा आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई छ। बुढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहनेछ।
बहुप्रतीक्षित कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत कम्पनी स्थापना गरिसकेको छ। काठमाडौँस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरिसकेका छन्।
सरकारले २०७९ साल असारमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो। लामो समयसम्म स्वदेशी वा विदेशी लगानी भन्नेमा आवश्यक निर्णय लिन ढिलाइ हुँदा प्रक्रिया अगाडि बढ्न सकेको थिएन। नेपालको ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको सो आयोजना निर्माणका लागि सरकारले रु ६० अर्ब अधिकृत पुँजी रहने गरी कम्पनी स्थापना गरेको थियो।
सरकारले आन्तरिक स्रोतको परिचालन गरेरै सो आयोजनाको निर्माण सुरु गर्ने बताउँदै आएको छ। आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमा भन्सार विन्दुमै कर उठाउँदै आइएको छ।
सरकारले चालु आवको बजेटमार्फत वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुन: स्थापना इकाइलाई नै कम्पनीमा रूपान्तरण गरेको हो। गत असार २८ गते कम्पनीको प्रमुख कार्यकारी प्रमुखमा इकाइकै प्रमुख श्रेष्ठलाई नियुक्त गरेको थियो।
आयोजनाबाट धादिङ र गोरखाका करिब ५० हजार मानिस प्रभावित हुनेछन्। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सन् २०१४ मा नै फ्रान्सेली कम्पनी ट्याक्टबेलले तयार पारिसकेको छ। आयोजनामा कूल दुई सय ६३ मिटर अग्लो बाँध निर्माण हुनेछ। त्यसबाट कूल ४५ मिटर लम्बाइको ताल बन्नेछ।
धादिङको बेनीघाटबाट दुई किलोमिटर उत्तरमा बाँध निर्माण हुनेछ। बढी बिजुली माग हुने काठमाडौँ, पोखरा, नारायणगढलगायतका ‘लोड सेन्टर’ नजिकको सो आयोजना आफैंमा महत्त्वपूर्ण मानिएको छ।
प्रतिक्रिया