विराटनगर । नेपालबाट युरोपका कतिपय देश र अमेरिकामा छुर्पीको माग बढिरहेको छ । इलाम, पाँचथर लगायतका जिल्लामा छुर्पीको बढी उत्पादन हुने गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार विगत पाँच वर्षमा आठ अर्ब एक करोड रूपैयाँको छुर्पी विदेश निर्यात भएको हो । विदेशमा कुकुर र बिरालोको खानाको रूपमा छुर्पी निर्यात हुने गरेको छ ।
अमेरिका, क्यानाडा, बेलायत, सिंगापुर, मलेसिया लगायतका २७ देशमा अहिले कुकुर र बिरालोको खानाको रूपमा छुर्पी गइरहेको छ ।
अहिलेसम्म छुर्पीको सबैभन्दा धेरै निर्यात अमेरिकातर्फ हुने गरेको छ । निर्यात हुने छुर्पीमध्ये अमेरिकातर्फ लगभग ८३.९६ प्रतिशत जाने गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा कुल दुई अर्ब ९१ करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भएकोमा अमेरिकातर्फ मात्रै दुई अर्ब ४४ करोड रूपैयाँ बराबरको निर्यात भएको छ ।
अमेरिकापछि अधिक छुर्पी निर्यात हुने मुलुकमा क्यानाडा रहेको छ । क्यानाडामा वार्षिक करिब ३१ करोड रूपैयाँ बराबरको छुर्पी गइरहेको छ ।
चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्ममा) भने एक अर्ब १० करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भएको छ । गत वर्षको यही अवधिको तुलनामा भने यो १० प्रतिशतले वृद्धि भएको हो । यो अवधिमा अमेरिकातर्फ मात्रै ९२ करोडको छुर्पी गएको हो ।
प्रतिक्रिया