विराटनगर । लम्पी स्किन नामक रोगले कोशी प्रदेशभरका ठूलो संख्यामा चौपाया प्रभावित छन् । यो रोगले महामारीकै रुप लिँदा चौपायाहरु थलिएका छन् । चौपाया प्रभावित हुँदा स्वाभाविक रुपमा किसान पनि प्रभावित बनेका छन् ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका अनुसार हालसम्म करिब २ लाखभन्दा बढी चौपाया संक्रमित बनेका छन् ।
तीमध्ये २ लाख १२ हजारभन्दा बढी गाई–गोरु तथा १ लाख ७ हजारभन्दा बढी राँगा–भैंसी लम्पी स्किन रोगबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजार ८ सयभन्दा बढी चौपाया मरेको तथ्यांक छ ।
निर्देशनालयका अनुसार हालसम्म १ लाख ३ हजार ७ सय ७१ पशुलाई संक्रमणविरुद्धको खोप लगाइएको छ । पाँचथरमा सबैभन्दा धेरै पशु संक्रमित भएका छन् ।
पाँचथरमा ३२ हजार ९ सयभन्दा बढी चौपाया संक्रमित भएकामा ३ सय ७६ वटा मरेका छन् । ३१ हजार ३ सयभन्दा बढी चौपाया संक्रमित भएको इलाममा १ हजार ३ सयभन्दा बढी मरेका छन् ।
यस्तै धनकुटामा २१ हजार ५ सयभन्दा बढी, झापामा करिब २० हजार ९ सय, उदयपुरमा २० हजार ८ सयभन्दा बढी, मोरङमा करिब १९ हजार ८ सय, सुनसरीमा १६ हजार २ सयभन्दा बढी, तेह्रथुममा १५ हजार ९ सयभन्दा बढी चौपाया संक्रमित भएका छन् ।
यसैगरी संखुवासभा १३ हजार, खोटाङमा १० हजार ३ सयभन्दा बढी, ताप्लेजुङमा ६ हजार ९ सयभन्दा बढी, भोजपुरमा करिब ६ हजार ६ सय, ओखलढुंगामा ६ हजार ३ सयभन्दा बढी तथा सोलुखुम्बुमा ७ सयभन्दा बढी चौपाया लम्पी स्किन रोगबाट संक्रमित भएका छन् ।
संक्रमणले व्यापक रुप लिएको र ठूलो संख्यामा चौपाया मरेर किसानलाई नोक्सानी भइरहेको अवस्था भए पनि नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको सम्बन्धित जिल्लाका किसानले बताएका छन् ।
निर्देशनालयकासूचना अधिकारी एवं पशु चिकित्सक विनोदकुमार साह भने नियन्त्रणका लागि औषधि वितरण र खोप लगाउने काम भइरहेको बताउँछन् ।
उनले सबै स्थानीय तहमा खोप पुर्याउन नसकेको स्वीकारे । जनशक्ति अभाव र बजेटको कमीले नियन्त्रणको काम सोचेजस्तो हुन नसकेको उनको भनाइ छ ।
संक्रमण भइसकेपछि छालामा १ देखि ५ सेन्टिमिटरसम्मका गाँठा देखिने, थुतुनो, मुख एवं नाकमा घाउ आउने लक्षण देखिने गरेको छ । लामखुट्टे, झिँगा, किर्नाजस्ता कीराको टोकाइबाट पशुमा यो रोग सर्ने पशु चिकित्सकहरुको भनाइ छ । रोग लागेपछि चौपायालाई ज्वरो आउने, गाईंभैंसीले दूध कम दिने हुँदै सिकिस्त भएर मर्ने गरेको पाइएको छ ।
प्रतिक्रिया