काठमाडौँ। विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५०० अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन्। पहिले १ हजार ५०० सम्म सहटी सुविधा थियो।
नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो।
भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई यसअघि राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १ हजार ५०० सम्म सटही सुविधा उपलव्ध हुने व्यवस्था थियो।
उक्त सीमा बढाएर २५ सय अमेरिकी डलर पुर्याइएको हो।
विदेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाइदिएको हो।
यसअघि वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै केन्द्रीय बैंकले न्यून मात्रामा मात्रै डलर सटही सुविधा पाउने व्यवस्था गरेको थियो।
हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृतिमा वा तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम क वर्गका वाणिज्य बैंकमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया