भन्सार परिसरमा नाराबाजी

मंगलबार, ०९ साउन २०८०
झापा । भारतबाट ल्याएको दैनिक उपभोग्य बस्तुहरुको भन्सार नतिरी नेपाल भित्र्याउन पाउनु पर्छ भन्ने माग राख्दै मेची भन्सार र मेचीनगर नगरपालिकोको कार्यालय परिसरमा नाराजुलुस भएको छ । सामान वारीपारी गरेर जीविकोपार्जन गर्दै आएका महिलाहरुले आज मंगलबार नेपाल सरकारले अनिवार्य लागुगरेको १ सय रुपैया भन्दामाथिको सामानमा भन्सार लगाउने निर्णय फिर्ता लिन सरकारलाई दबाव दिने उद्देश्यले जिल्लाका विभिन्न स्थानबाट भेला भएका व्यापारी महिलाहरुले नाराजुलुस गरेका हुन् । भन्सार लाग्ने नियम कार्यान्वयनमा आएसँगै मेचीनगरमा बषौंदेखि सरकारको नीतिविपरीत सामान आयात गर्दै आएका सीमित व्यापारीहरुले र केही सर्वसाधारणहरुले बिरोध गरेका छन् । भन्सार शुल्क नियमका कारण दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै व्यापारीहरुलाई उक्त नियमले असहज भएको भन्दै नियम खारेजी माग गरेका छन् । विगतका दिनमा भन्सार नतिरी होटल व्यवसायका लागि खाद्यान्न, सागसब्जी ल्याएका होटल ब्यवसायीहरु पनि निर्णय फुकुवा गर्न मागसहित विरोधमा उत्रिएका छन् । ब्यानर र प्लेकार्डसहित सडकमा उत्रेका ब्यवसायीले सयभन्दा बढीको सामान बिनाभन्सार ल्याउन पाउनुपर्ने भन्दै बिरोधमा उत्रिएका हुन् । आर्थिक मन्दीले मुलुक जर्जर अवस्थामा पुगेको बेला ब्यवसायीलाई सास्ती दिने खालको अब्यावहारिक नियम नलागाउन उनीहरुले आग्रह गरेका छन् । यस्तै, भारतबाट सामान नेपालका विभिन्न ठाउँसम्म पुर्याएर दैनिक गर्जो टार्दै आएका व्यवसायीले मेची नगरपालिका घेराउ गरेका छन् । सामान बोकेर ब्यवसाय गरेर गुजारा चलाउँदै आएका व्यवसायीको दैनिक गुजारा नै रोकिएको भन्दै उनीहरुले नियम नलगाउ ननगर प्रमुखलाई आग्रह गरेका थिए । सीमावर्ती क्षेत्रमा भन्सार छलेर सामान आयात हुँदा राजश्व असुलीमा गिरावट भएको भनेर केन्द्र सरकारको निर्देशनअनुसार देशका सबै भन्सारमा साउन १ गतेदेखि लागू हुने गरी भन्सार जाँचपास गर्न सुरु गरेको थियो । मेची नगरपालिकाको समन्वयमा मेची उद्योग बाणिज्य संघ, मेची भन्सार कार्यालय, भन्सार एजेन्ड, स्थानीय राजनीति दलका प्रमुखलगायत सम्मिलित भेलाले १०० भन्दा बढी रकमको सामानलाई भन्सार शुल्क लिने निर्णय गरेको थियो । सोहीअनुसार मेचीभन्सार कार्यालयले भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको माल सामानको जाँच गरी १ सयभन्दा बढी मूल्यका सामानको भन्सार शुल्क लिन सुरु गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार