प्रदेश सरकारद्वारा ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल र पिकअप

सोमबार, २२ साउन २०८०
विराटनगर । कोशी प्रदेश सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिकालाई सोमबार दमकल र पिकअप भ्यान हस्तान्तरण गरेको छ । ‘मुख्यमन्त्री अत्यावश्यक सेवाकेन्द्र’ सञ्चालनका लागि यी दुई साधन दिइएको हो । मुख्यमन्त्री उद्धव थापाले दमकल र पिकअपको चाबी फुङलिङ नगरपालिकाका मेयर अम्मिर मादेन र उपमेयर हिमादेवी ओझालाई हस्तान्तरण गरे । उक्त केन्द्रले विपद्को जोखिम कम गर्न काम गर्दै आएको छ । प्रदेशका १४ जिल्लामै सेवा प्रदान गर्ने सरकारको योजना रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुरेश राउतले बताए । ७३ लाख ७५ हजारमा दमकल र ३७ लाख रूपैयाँमा पिकअप खरिद गरी सहयोग गरिएको जनाइएको छ । हालसम्म १६ ठाउँमा दमकल सहयोग गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय प्राकृतिक विपद्, डेंगु संक्रमण, पशुमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले स्थानीय तहलाई निरन्तर सहयोग गर्ने मुख्यमन्त्री थापाले बताए । डेंगु फैलिइरहेको प्रति सरकार सचेत रहेको भन्दै उनले नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको उल्लेख गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार