संखुवासभामा कैदी मृत्यु प्रकरणः प्रहरीको संलग्नता पुष्टि

शुक्रबार, २६ साउन २०८०
विराटनगर । संखुवासभा जिल्ला कारागार खाँदबारीमा दुईजना कैदीको मृत्यु भएको घटनामा प्रहरीको संलग्नता देखिएको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट कैदीलाई प्रहरीले निर्घात कुटपिट गरेको पाइएको छ । कुटपिटमा प्रहरीको प्रत्यक्ष संलग्नता देखिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कारागारमा रहेको सीसी क्यामेराको अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो । कैदीमाथि लाठी, लात र मुक्काले बारम्बार प्रहार गरेको सीसी क्यामेरा फुटेजमा देखिएको छ । फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीलाई बिहीबार नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) राजेशनाथ बास्तोलाले बताए । कारागारको सुरक्षामा असइ (प्रहरी सहायक निरीक्षक) को नेतृत्वमा २० जना प्रहरी परिचालन गरिएको थियो । घटनामा प्रहरीको संलग्नता देखिएपछि असइ लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरु सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदीहरु संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहानका राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो । कारागार प्रशासनको जिम्मा लगाएर पुनः कारागारभित्र हालिएपछि कैदीबन्दीबीच झडप एवं कुटपिट हुँदा तोलाङ्गी र बलामीको मृत्यु भएको दाबी संखुवासभा प्रहरीको थियो । संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारले घटनामा प्रहरीको संलग्नता नरहेको दाबी गरेका थिए । कारागारभित्र अचेत अवस्थामा भेटिएका कैदीको उपचारका क्रममा खाँदबारी अस्पतालमा मृत्यु भएको जिकिर उनको थियो । कारागार स्रोतले भने बलामीको कारागारभित्रै र तोलाङ्गीको अस्पताल पुर्याउनासाथ मृत्यु भएको जनाएको छ । प्रारम्भिक अनुसन्धान तथा सीसी क्यामेरा फुटेजबाट पनि कैदीमाथि भएको कुटपिटमा प्रहरी नै संलग्न रहेको पुष्टि भएको छ । तर, डीएसपी गोदारले घटनामा प्रहरीको संलग्नता नदेखाउनलाई कैदीबन्दीबीचको झगडा भनेका हुन् । घटनापछि जिल्ला सुरक्षा समिति संखुवासभाले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिका इन्सपेक्टर सरोज खनाल र प्रशासन कार्यालयका शुब्बा तारणी घिमिरे सदस्य छन् । समितिले आफ्नो काम सुरु गरिसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । उनका अनुसार घटनाको सत्यातथ्य पत्ता लगाउन कारागारमा रहेको सीसी क्यामेराको ‘हार्डडिक्स’लाई नियन्त्रणमा लिइसकिएको छ । प्रदेश प्रहरी कार्यालयले पनि एसपी (प्रहरी उपरीक्षक) ऋषिराम कँडेलको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा इन्सपेक्टर (प्रहरी निरीक्षक) जितेश दाहाल, सइ (प्रहरी नायव निरीक्षक) रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् । समितिका सदस्यले संखुवासभा पुगेर बिहीबारदेखि आफ्नो काम सुरु गरिसकेको डीआईजी बास्तोलाले बताए । गृह मन्त्रालयले पनि घटनाको छानबिन गर्न कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरेको छ । समितिमा नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक) कौशलकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका डीएसपी कुमार बुढाथोकी, कारागार विभागका कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रशासकीय अधिकृत (नाम तोकिएको छैन) सदस्य छन् । टोलीले खाँदबारी पुगेर शुक्रबारदेखि आफ्नो काम सुरु गर्ने मन्त्रालयको भनाइ छ । गृह प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन पेस गर्न समय उपलब्ध गराइएको जानकारी दिए । ‘सबै कुराको अध्ययन गर्दै घटनाको छानबिन गरेर समितिले सत्यातथ्य रिपोर्ट दिने छ,’ उनले भने, ‘समितिको प्रतिवेदन प्राप्त भइसकेपछि घटनासँग सम्बन्धित सबै कुरा प्रष्ट हुन्छ ।’ चौकीदारसहित नौ कैदी प्रहरी हिरासतमा कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ जना कैदीलाई हिरासतमा राखेको छ । कारागारका अनुसार रामकुमार जबरजस्ती करणी मुद्दाका कैदी हुन् । उनीसहित कुमार श्रेष्ठ, अनिष शर्मा, सुमन सारु, टीकाराम भनिने टीकाराज चौहान, सचिन राई, राम गुरुङ, नवीनकुमार राई र योगेन्द्रबहादुर गुरुङलाई प्रहरीले कारागारबाट निकालेर हिरासतमा राखेको हो । प्रहरी नियन्त्रणमा रहेकामध्ये कुमार, अनिष, सुमन, सचिन र राम जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी रहेको निमित्त जेलर राजेन्द्र घिमिरेले बताए । उनका अनुसार टीकाराम डाँका र नवीनकुमार तथा योगेन्द्रबहादुर कर्तव्य ज्यान मुद्दाका कैदी हुन् । कारागारको आन्तरिक सुरक्षामा समस्या आउने देखिएपछि प्रहरीले नौ जना कैदीलाई नियन्त्रणमा लिएर लगेको निमित्त जेलर घिमिरेले बताए । ‘जेल तोडेर भाग्न खोजेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः बन्दीगृहभित्र पठाएछ । त्यसपछि उनीहरुमाथि अरु कैदीबन्दीले कुटपिट गरेको कुरा आएको छ,’ उनले भने, ‘कुटाइले कैदीको मृत्यु नै भइसकेपछि कुटपिटमा संलग्नहरु कारागारभित्र असुरक्षित हुने अवस्था आयो । घटनाको समेत अनुसन्धान गर्नुपर्ने भएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।’  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार