संक्रमितको संख्या उच्च, धरानमा स्वास्थ्य आपतकाल घोषणा गर्न सिफारिस

शनिबार, २७ साउन २०८०
विराटनगर । डेंगु संक्रमणले महामारीको रूप लिएपछि सुनसरीको धरानमा स्वास्थ्य आपतकाल घोषणा गर्न सिफारिस गरिएको छ । देशभरमै सुनसरमा डेंगुका संक्रमितको संख्या सबैभन्दा बढी छ । धरानमा बढी संक्रमित पाइएका छन् । सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले धरानलाई स्वास्थ्य आपतकाल घोषणा गरेर डेंगुविरुद्ध तीव्र अभियान चलाउन गृह मन्त्रालयमा सिफारिस गरेको हो । धरानका अस्पतालहरूमा सङ्क्रमित बिरामीको चाप अत्यधिक देखिएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले एकै दिन धरानमा एक हजार सात सय ७६ जना डेंगु भाइरस सङ्क्रमित थपिएका बताएका छन् । हालसम्म धरानमा १० हजार जनामा सङ्क्रमण देखिएको मेहताको भनाइ छ । धरानका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेंगु क्लिनिक, फिवर क्लिनिक र डेंगु अस्पतालसहित उपमहानगरको विभिन्न स्वास्थ्य चौकी, वडा समिति कार्यालयहरूले सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविर, धरान सभागृह र उद्योग वाणिज्य सङ्घ सुनसरीको हलमा उपमहानगरले निःशुल्क जाँच र औषधि वितरण गरिरहेको छ । उपमहानगरपालिकाले टोली परिचालन गरेर लामखुट्ेका लार्भा मार्ने र पानी जम्न नदिने उपायहरु अपनाउन अभियान चलाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार