विरोधबीच खानेपानी सञ्चालन बोर्ड गठन प्रक्रिया पारित

शनिबार, २७ साउन २०८०
टीका खतिवडा इलाम । इलाम नगरपालिकाले खानेपानी सञ्चालक समिति (बोर्ड) गठन गर्ने भएको छ । विरोधका बीच नगर कार्यपालिकाको बैठकले खानेपानी सञ्चालक समिति (बोर्ड) गर्ने प्रस्ताव पारित गरेको हो । इलाम बजारमा खानेपानी वितरणको जिम्मा इलाम नगरपालिकाले लिएको छ । पुरानो खानेपानीसँगै हाल इलाम बजार शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत् पनि खानेपानी ल्याउन थप काम भइरहेको छ । समितिको अध्यक्षमा इलाम नगरपालिकाका मेयर केदार थापा छन् । खानेपानी आयोजनाका बिषयमा उपभोक्ता सन्तुष्ट छैनन् । केही दिनअघि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा उपभोक्ताहरुले ताला लगाएका थिए । नियमित पानी नआएपछि असन्तुष्ट उपभोक्ताहरुले संस्थाको कार्यालयमा तालाबन्दी गरेका थिए । माग सम्वोधन भएको भन्दै ताला खुलिसकेको छ । तर यस बीचमा नगरपालिका र उपभोक्ता समितिसँग यहाँका उपभोक्ता कुनै न कुनै तरिकाले गुनासो ब्यक्त गरिरहेका छन् । सोही खानेपानी संस्थाको सञ्चालक समिति इलाम नगरपालिकाबाटै नेतृत्व लिएर बोर्ड गठन प्रक्रिया अगाडि बढाइएकोमा यहाँका जनप्रतिनिधि नै सन्तुष्ट छैनन् । उनीहरुले अहिले पनि उपभोक्ता समितिको अध्यक्ष मेयर थापा रहेको भन्दै बोर्ड गर्न नपर्ने बताउँदै आएका छन् । उनीहरुको विरोधका बीच सो निर्णय शुक्रबारको कार्यपालिका बैठकले पारित गरिसकेको छ । आयोजनामार्फत् इलाम बजारका अधिकांश ठाउँमा पानी आइरहेको छ । कति ठाउँमा नयाँ धारा जडान समेत भइरहेको छ । इलाम बजारमा पाइप विस्तारको क्रममा भत्काइएको कतिपय स्थानमा पुनः मर्मत समेत नगरिएको भन्दै उपभोक्ताहरुले तत्काल मर्मतका लागि दबाव दिँदै आएका छन् । कार्यपालिकाको बैठकमा खानेपानी सञ्चालक समिति (बोर्ड) गठन प्रस्तावमा इलाम नगरपालिका सातका वडाध्यक्ष नरेश श्रेष्ठले असहमति जनाए । उनले गरेको बोर्ड गठन प्रस्तावको विपक्षमा समर्थन गर्दै इलाम नगरपालिका १ वडाध्यक्ष गायत्रीराम बस्नेत र इलाम नगरपालिका १० का वडाध्यक्ष दिलीप प्रधान बाहिरिएका थिए । उनीहरुले बोर्ड गठन प्रक्रिया अगाडि नबढाउन माग गर्दागर्दै प्रक्रिया अघि बढाइएको बताएका छन् । उनीहरु ‘नोट अफ डिसेन्ट’ लेख्दै बाहिरिएका थिए । काम नसकी नगरपालिकाले आयोजना जिम्मा लिएर सञ्चालन गर्न नहुने र नगरले बोर्ड गठन गर्न नपर्ने उनीहरुको माग छ । खानेपानीको काम गुणस्तरहीन भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा समेत परेको छ । उपभोक्ता समितिलाई चोख्याउन नगरपालिकाले बोर्ड गठन गर्न लागेको वडाध्यक्षको आरोप छ । हाल इलाम बजारमा सन्दकपुर गाउँपालिकाका विभिन्न खोलाबाट पानी ल्याउने काम भइरहेको छ । पानी अनियन्त्रित अवस्थामा आउँदा निर्माण संरचनामा असर पर्ने र पाइप फुट्ने जस्ता समस्याले खानेपानी प्रणाली बेहाल अवस्थामा छ । अर्कातर्फ अख्तियारले ‘क्लीन चिट’ नदिइ यस्तो कार्य अघि बढाउन नहुने भन्दै एकथरी जनप्रतिनिधि नै लागिरहँदा नगरपालिकाको कार्यपालिका बैठकले निर्णय पारित गरेको हो । पहिला अब्यवस्थित भएको खानेपानी निर्माणको काम ब्यवस्थित गर्न लाग्नु पर्ने उपभोक्ताहरुको भनाई छ । नगरपालिकाले पारित गरेको निर्णय विधिसम्मत नभएको, उपभोक्ता समितिले हिसाबकिताब समेत हालसम्म नबुझाएको, स्थानीय तहले समितिलाई चोख्याउन यो कार्य अघि बढाएको भन्दै उपभोक्ताहरुले नगरपालिकाको विरोध गर्न सुरु गरेका छन् । आयोजनामा लामो समयसम्म नगरपालिकाको बजेट मर्मतमा नै खर्च हुने र अन्य विकासको बजेट समेत यही कार्यमा लगाउनु पर्ने भन्दै पहिला खानेपानी वितरणको कार्य नगरपालिका भन्दा बाहिरबाट हुनुपर्ने एकथरी उपभोक्ताको माग छ । खानेपानीका लागि इलाम नगरपालिकाले सन्दकपुर गाउँपालिकालाई वार्षिक २० लाख बजेट दिने निर्णय अघिल्लै जनप्रनितिधिको पालामा भइसकेको छ । इलाम नगरपालिकाले समेत खानेपानी वितरणको नाममा ब्यापार गरेको भन्दै यसको विरोध सुरु हुन थालिसकेको छ । इलाम बजारमा खानेपानी ल्याउनका लागि शुरुमा नै उपभोक्ताबाट प्रति घरधुरी १५ हजार दुई सयका दरले रकम उठाइएको थियो । पछिल्लो पटक उपभोक्ताले १७ हजारभन्दा बढी रकम जम्मा गर्नुपर्ने हुन्छ । सन्दकपुर गाउँपालिकाभित्र रहेका तीनवटा खोला र इलाम नगरपालिका २ मा रहेको भाँडी खोलाबाट पानी ल्याइँदै आइएको छ । यस आयोजनामार्फत् इलाम बजारमा प्रतिसेकेन्ड ४१ लिटर पानी ल्याइने सम्झौता भएको थियो । तर हाल खानेपानी कहिले सोही अनुसार आउने त कहिले हप्ता दिनसम्म नआउने गरेको छ । रमण कन्स्ट्रक्सने आयोजना निर्माणको ठेक्का पारेर काम अघि बढाएको हो । इलाम नगरपालिकाको स्वामित्वमा रहने गरी सञ्चालन गरिएको आयोजना निर्माण कम्पनीले ५७ करोड ९५ लाख ७ हजार रुपैयाँमा ठेक्का लिएको हो । खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट १४ करोड ४८ लाख ७६ हजार ७ सय ५० रुपैयाँ ऋण लिएको छ । २० वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी ५ प्रतिशत व्याजदरमा कोषबाट ऋण लिइएको हो । त्यस्तै, उपभोक्ताबाट लागत सहभागिताको ५ प्रतिशत २ करोड ८९ लाख ७५ हजार ३ सय ५० हजार रुपैयाँमा आयोजना सञ्चालन गरिएको हो । पछिल्लो समय उपभोक्ता थपिएसँगै कोर्षमा रकम समेत बृद्धि भएर दोब्बरभन्दा बढी भएको छ । आयोजना २ वर्ष भित्रमा सम्पन्न हुनेगरी सम्झौता भए पनि लामो समय बितिसकेको छ । आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाको काम हाल पनि चलिरहेको छ । एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन भएको हो । यथार्थ सार्वजनिक गर्ने नगरपालिकाको भनाई बोर्ड गठन प्रक्रियाका विषयमा इलाम नगरपालिकाका प्रवक्ता तथा इलाम नगरपालिका वडा नम्बर ४ वडाध्यक्ष नुतनदेव दुलालले आफू कार्यपालिकाको बैठकमा नरहेको जानकारी दिए । उनी स्वास्थ्य उपचारका लागि केही दिन अघिदेखि जिल्ला बाहिर छन् । यस बिषयमा केही दिनभित्र पत्रकार सम्मेलन गर्दै सत्यतथ्य बाहिर ल्याउने उनले बताए । जनप्रतिनिधिबीच हात हालाहाल खानेपानी बोर्ड गठनका बिषयमा इलाम नगरपालिकाका जनप्रतिनिधिबीच हात हालाहाल समेत भएको छ । नगरपालिकाका दुई जनप्रतिनिधिबीच एक अर्कामा मुक्कामुक्की चलेको थियो । कार्यपालिका बैठक बस्नु अघिल्लो दिन बिहिबार भएको एक भेलामा जनप्रतिनिधि एक अर्काबिच मुक्का हानाहानको अवस्था सिर्जना भएको आएको थियो । यसलाई नगरपालिकाले ‘सामान्य’ भनेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार