टीका खतिवडा
चुलाचुली (इलाम) । स्थानीय सरकारले स्थानीय जनताका साना साना विकासका अपेक्षा पूरा गर्नु पर्दछ । ठूला महल बनाउँदा मात्र विकास हुने हैन । जनतालाई शिक्षित गराउनु नै पहिलो विकास हो भन्ने बुझेका चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले शिक्षा नयाँ कार्यक्रम भित्र्याएका छन् ।
गाउँपालिकामा ‘बुहारी शिक्षा’, विद्यालयलाई निःशुल्क बस वितरण, गाउँपालिकामा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएसँगै गाउँपालिका अध्यक्ष केरुङको शिक्षा क्षेत्रका लागि पहल अनुकरणीय मानिएको छ ।
‘स्थानीय सरकारले जनताको प्रत्यक्ष पीरमर्का बुझेर काम गर्नु पर्दछ भन्ने राम्ररी बुझेको छु’ उनी भन्छन् ।
केरुङले गाउँपालिकामा निर्वाचित भएर आएपछि यो कार्यक्रम सुरु गरेका हुन् । चुलोचम्कामा मात्र सीमित रहेका बुहारीहरुलाई शिक्षा दिक्षा दिए मात्र परिवार समृद्ध बन्ने भएकाले गाउँपालिकाले यो कार्यक्रम थालेको चुलाचुली गाउँपालिकाका अध्यक्ष केरुङले बताए ।
उनले एउटी आमा शिक्षित भएमात्र छोराछोरी शिक्षित हुने भएकाले पनि यो कार्यक्रम थालिएको बताए । उच्च शिक्षाको दायित्व स्थानीय सरकारले लिने गरी सो कार्यक्रम सुरु गरिएको अध्यक्ष केरुङको भनाई छ ।
गाउँपालिकामा बुहारी शिक्षा सुरु गरेदेखि ०६१ सालमा एसएलसी पास गरेर अध्ययन छोडेकी कमला भट्टराई (ढुंगाना) १८ वर्षपछि कक्षा ११ मा भर्ना भएकी छन् । उनी गत वष कक्षा ११ मा भर्ना भएकी हुन् ।
इच्छा शक्ति भए गर्न सकिन्छ भन्ने उदाहरण समेत बनेकी छन् उनी । उनले राम्रो अंकका साथ कक्षा ११ उत्तीर्ण गरिन् । कक्षामा तेस्रो हुँदै उनी उत्तीर्ण भएकी हुन् । त्यसले पनि आफूमा सन्तुष्टिका साथै उत्साह जागेको कमलाको भनाई छ । परिवारको साथ, विद्यालयको हौसला र समाजको समेत प्रेरणा मिलेको उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘विवाहसँगै पढाई टुंगिएको महसुस भइरहेको थियो गाउँपालिकाले बुहारी शिक्षा सुरु गर्यो अनि पढ्न आएँ ।’
गाउँपालिकाले गत वर्षबाट ‘बुहारी शिक्षा’ सुरु गरेको हो । यो शिक्षा सुरु भएदेखि विवाहसँगै पढाई छोडेकाहरुलाई राहत भएको छ । कमला जस्तै अन्य पाँच जनाले हाल चुलाचुलीमा निःशुल्क अध्ययन गरिरहेका छन् ।
गाउँपालिकाले विवापछि अध्ययन गर्न चाहने बुहारीहरुलाई निःशुल्क शिक्षा सुरु गरेको छ । यो शिक्षासँगै यहाँका बुहारीहरु समेत अध्ययनमा आउन थालेका छन् । पहिलो वर्ष नै गाउँपालिकाभित्र पाँचजना बुहारीहरु भर्ना भएर अध्ययन गरिरहेको गाउँपालिका शिक्षा शाखाका प्रमुख राम मिश्रले बताए । उनले हाल कक्षा ११ को भर्ना चलिरहेकाले यस वर्ष समेत बुहारीहरु भर्ना हुँदै गरेको बताए ।
गाउँपालिकाभित्र रहेका बुहारीहरुले जनता मावि चुलाचुली, बालज्योति मावि, र राष्ट्रप्रेमी मावि चुलाचुलीमा गरी तीनवटा विद्यालयमा अध्ययन गरिरहेका छन् ।
घर व्यवहारमा लागेर पढाइ छोडेका महिलाहरु घरको कामसँगै अध्ययन गर्न आउन थालेपछि गाउँपालिकाको यो कार्यक्रम सफल बन्दै गएको छ । ६ वटा वडा रहेको यस गाउँपालिकामा जम्मा २० वटा सामुदायिक विद्यालय र ७ वटा निजी विद्यालय सञ्चालनमा छन् ।
गाउँपालिकाले जनता माविमा बिद्यालय बस उपलब्ध गराएको छ । यस विद्यालयमा सिभिल इन्जिनियरिङको कक्षा समेत सञ्चालनमा गरिएको छ ।
प्रतिक्रिया