राष्ट्र बैंकले कर्जामा १२ करोडको सीमा लगाउँदा सेयर बजार प्रभावित : अर्थमन्त्री

विहीबार, २१ भदौ २०८०
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले सेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा अर्थमन्त्री महतले पछिल्लो समय लगातार रुपमा सेयर बजारमा आएको गिरावटका विषयमा सरकार जानकार रहेको पनि बताए । अर्थमन्त्री महतले राष्ट्र बैंकले सेयर कर्जामा लगाएको १२ करोडको सीमाले बजार प्रभावित बनाएको बताए । सेयर कर्जा सहज बनाउन सरकारले राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा आवश्यक संवाद भइरहेको उनको भनाइ छ । सरकार सेयर कारोबारलाई सहज रुपमा लिनुपर्छ भन्ने पक्षमा रहेको भन्दै महतले लगानीकर्ताको लगानी डुब्न नदिने बताए । ‘सेयर बजारमा सबैखाले मानिसले हैसियतअनुसार पुँजीका आधारमा लगानी गर्न कानुनले छुट दिएको छ । शिक्षक, डाक्टर, इन्जिनियर अन्य पेसा व्यवसायलगायतमा रहेका सबैले सेयर बजारमा लगानी गर्न सक्छन् । कसैले पूर्णकालीन व्यवसायीको रुपमा लगानी गर्छन्,' उनले भने, 'कसैले बचेको पुँजी सेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले पनि लगानी हुन्छ । यस्तो लगानीलाई हामीले अनुचित मान्नु हुँदैन । त्यही कारणले सेयर कारोबार र मूल्य घट्यो वा आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न हुँदैन । सेयर कारोबारलाई कोही पनि अनुचित रुपमा नलिउन् । केही व्यक्तिहरूले सेयर कारोबारमा 'मेनुपुलेसन' गर्न नपाउन्, इन्साइडर ट्रेडिङ गर्न नपाउन् र सूचना चुहाएर सेयर बजार प्रभावित बनाउन नपाउन् भन्ने बारेमा सरकारले निगरानी गरिरहेको छ ।'

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार