आमा-छोरा बेपत्ता

शुक्रबार, २२ भदौ २०८०
काठमाडौं । कालिकोट सदरमुकाम मान्म बजारबाट आमाछोरा बेपत्ता भएका छन् । दैलेख भगवतीमाई गाउँपालिका–५ की गीताकुमारी जैसी शाही र उनका चार वर्षीया छोरा टेकेन्द्र बिहीबार रातिदेखि मान्म बजारमा रहेको डेराबाट बेपत्ता भएका हुन् । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ लुसा माइत भएकी गीताकुमार मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । शाहीले पहिलो विवाह कालीकोटमा नै गरेका थिए । पतिसँग झगडा परेपछि गीताले कालीकोट जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी थिइन् । गीता एक्कासी बेपत्ता भएपछि उनका माइती पक्षले शाहीले बेपत्ता पारेको शंका गरेका छन् । गीता बस्ने कोठामा कपडा यत्रतत्र छरिएका र टाउकाको छालासहित रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएको थियो । गीताको माइती पक्षले कोठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने शंका गरेका छन् । शाहीले यसअघि पनि पत्नी गीता र छोरालाई मार्ने धम्की दिँदै आएको बताइएको छ । गीताको खोजी भइरहेको कालिकोटका जिल्ला प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए । घटनाको सत्यतथ्य छानबिनको माग गर्दै गीताको माइती पक्षले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । गीताका पति शाही एमालेको कालिकोट जिल्ला कमिटी सदस्य थिए । उनी पार्टी कार्यालय सचिवकोसमेत जिम्मेवारीमा थिए । महिला हिंसा गरेको भन्दै एमालेले उनलाई पार्टीबाट निकालेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार