विराटनगर/विराटनगरमा प्रहरी हौं भन्दै लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । लुटपाट भएको केही रकमसहित घटनामा संलग्न दुई जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१२ रानीका रविकुमार साह सुडीमाथि लुटपाट भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार घटना असोज २२ गते सोमबार दिउँसो १२ बजेतिरको हो । साह मोटरसाइकलमा रानीबाट विराटनगर बजारतिर आउँदै थिए ।
विराटनगर–११ रोडशेष चोकमा आइपुगेपछि पिछा गर्दै बा ६७ प २५०४ नम्बरको बुलेट मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले साहमाथि लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए । ‘लुटपाटमा संलग्नले हामी प्रहरी हौं भन्दै साहले चलाएको मोटरसाइकल रोकेछन् । एक जना साहको मोटरसाइकल पछाडि बसेछन्,’ उनले भने, ‘साहलाई रोडशेषबाट विराटनगर–२ हनुमान मन्दिर पुर्याएको पाइयो । मन्दिर परिसरमा पुर्याएर धाकधम्की दिँदै लुटपाट गरेपछि दुवै जना फरार भएको खुलेको छ ।’
लुटपाटमा संलग्नमध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसेर हनुमान मन्दिरतर्फ जाँदै गरेको सीसि क्यामेरा फुटेजमा देख्न सकिन्छ ।
‘दुई जनामध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसे,’ प्रहरी स्रोतले भन्यो, ‘अर्का व्यक्ति भने आफ्नै मोटरसाइकल चलाएर घटनास्थलमा पुगेको देखिन्छ ।’
दाहालका अनुसार साहको नागरिकतासहित उनको साथमा रहेको नगदसहितको झोला, बैंकको चेकबुक, विभिन्न बैंकका ३ वटा एटीएम, मोबाइल र मोटरसाइकलको ब्लुबुक लुटपाट गरिएको पाइएको छ ।
साहको साथबाट कति नगद लुटपाट भएको भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पारिवारिक समस्याले भारततिर गएका कारण उनी नेपाल फर्किएपछि लुटपाट भएको रकमका बारेमा यकिन हुने प्रहरीको भनाइ छ । साहले भने साथमा भएको १२ लाख रूपैयाँ लुटपाट गरिएको प्रहरीलाई बताएका थिए ।
घटनालगत्तै लुटपाटमा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए । ठाउँठाउँमा विशेष टोली परिचालन गरेर घटनामा संलग्नको खोजी तीव्र पारिएको थियो ।
लुटपाटमा संलग्न दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । पक्राउ पर्नेमा विराटनगर–१ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर–४ खारजीका ३६ वर्षीय सुनील थापा रहेको एसपी पोखरेलले बताए । उनका अनुसार तामाङ बुधबार दिउँसो र थापा बिहीबार बिहान पक्राउ परेका हुन् । प्रहरीले दुवै जनालाई विराटनगर–१ धनावत पुलनजिकबाट पक्राउ गरेको हो ।
लुटपाट गरिएकोमध्ये ५ लाख ६५ हजार रूपैयाँ तामाङको घरको दराजभित्रबाट प्रहरीले बरामद गरेको छ । साहको साथबाट लुटपाट गरिएका नागरिकता, पैसाको झोला, चेकबुक, एटीएम, ब्लुबुकसमेत प्रहरीले फेला पारेको छ । थापाको साथबाट हालसम्म केही बरामद भएको छैन । उनको घरमा खानतलासी गर्न प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार लुटपाट गरिएको रकम दुवै जनाले बाँडफाँट गरेर लिएको हुनसक्छ ।
घटनामा संलग्नहरु पूर्वप्रहरी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडित साहले बिमामा तिर्न र बैंकमा जम्मा गर्न आफूले लिएर आएको रकम लुटपाट भएको प्रहरीलाई बताएका छन् । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया