कोसी प्रदेशका विभिन्न स्थानमा नेपाल प्रहरीको रक्तदान

शुक्रबार, २६ असोज २०८०
विराटनगर/कोसी प्रदेशका विभिन्न स्थानमा नेपाल प्रहरीले शुक्रबार खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सम्भावित रगतको अभावलाई टार्न ६८ औं प्रहरी दिवसका अवसरमा रक्तदान गरिएको हो । कोसीमा चाडपर्वका बेला रगतको अभाव हुने गरेको छ । प्रदेशका १४ वटै जिल्लाका विभिन्न स्थानमा रक्तदानको आयोजना गरिएको जानकारी प्रहरी प्रमुख प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले दिए । आफूलाई पायक पर्ने स्थानमा प्रहरी कार्यालयहरुले रक्तदान कार्यक्रम संचालन गरेको उनले बताए । प्रदेश राजधानी विराटनगरमा पनि रक्तदान गरिएको छ । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको प्रमुख आतिथ्य तथा नेपाल प्रहरी अस्पताल बेलबारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा विराटनगरको ट्राफिक चोकमा रक्तदानको आयोजना गरिएको हो । कार्कीले कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेश एसएसपी राजन अधिकारीलाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिन् । कार्यक्रममा नेपाल प्रहरीका ५९, सशस्त्रका १३, नेपाली सेनाका ४ र सर्वसाधारण ३० गरेर १ सय ६ जनाले रक्तदान गरेका छन् । संकलित १ सय ६ पिन्ट रगत रक्तसंचार केन्द्रलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा डीआईजी बास्तोलासहित नेपाल प्रहरी श्रीमती संघकी कोसी प्रदेश अध्यक्ष अजिता देवकोटा बास्तोला, कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी जयराज सापकोटा, मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलसमेतका अधिकारी, प्रहरी कर्मचारी, नेपाली सेनालगायत उपस्थित थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार