केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब, ४८ सांसद प्रदेश प्रमुखकोमा जाँदै

शुक्रबार, २६ असोज २०८०
विराटनगर/कोसी प्रदेशको मुख्यमन्त्री केदार कार्कीलाई नियुक्त गर्न प्रदेश प्रमुखलाई दबाब बढेको छ । कार्कीले संविधान र सर्वोच्चको फैसला बमोजिम संवैधानिक प्रक्रिया पूरा गरेर मुख्यमन्त्रीमा दाबी गरेका छन् । कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागसहित दबाब दिन ४८ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा जाँदैछन् । प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सशरीर उपस्थित भएर उनीहरुले मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन लागेका हुन् । कार्की र नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । गठबन्धनका तर्फबाट आङ्बोले नेपाली कांग्रेसको संस्थापनइतर सांसदको हस्ताक्षर दुरुपयोग गरेर मुख्यमन्त्रीमा दाबी गरेका हुन् । उनले कांग्रेसका सांसदको पुरानो हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् । संस्थापनइतरका कार्कीले आफ्ना ८ र नेकपा (एमाले)का ३९ सांसदसहित ४७ सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए । कांग्रेस प्रदेश संसदीय दलको उपनेताबाट राजीनामा दिएका हिमाल कार्की पनि उनकै पक्षमा खुलेका छन् । उनलाई मुख्मन्त्री नियुक्तिका लागि दबाब दिने कार्यक्रममा हिमाल पनि उपस्थित हुने भएका छन् । उनी उपस्थित हुँदा कार्कीको पक्षमा ४८ सांसद हुने छन् । आङ्बोले पनि कार्कीसहित कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएर मुख्यमन्त्रीको दाबी गरेका हुन् । प्रदेशमा ६ जना सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने नयाँ सरकार गठनका विषयलाई लिएर तटस्थ बसेको छ । मुख्यमन्त्री दाबी गरेका आङ्बोले कार्कीलाई समर्थन गरेका सांसदको पनि हस्ताक्षर बुझाएका छन् । त्यसो हुँदा मुख्यमन्त्री नियुक्तिमा अलमल हुनसक्ने देखेर कार्कीलाई समर्थन गरेका सांसदहरु दबाब दिन प्रदेश प्रमुखको कार्यालयतर्फ जाँदैछन् । प्रदेश प्रमुख खापुङले नियुक्तिको प्रक्रिया ५ बजेपछि सुरु गर्ने बताएका छन् । एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन प्रदेश प्रमुखको कार्यालयतर्फ लागिएको बताउँछन् । ‘सबै जना सशरीर उपस्थित भएर दबाब दिने छौं,’ उनले भने, ‘कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने मागसहित प्रमाणका रूपमा उपस्थित हुन सबै सांसद प्रदेश प्रमुखकोमा पुग्दैछौं ।’ प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् । समय सकिनै लाग्दा पनि प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार