कोसीको मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुखको आनाकानी

शुक्रबार, २६ असोज २०८०
विराटनगर/कोसी प्रदेशका प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिमा आनाकानी गरिरहेका छन् । उनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिए थिए । समय घर्किदा पनि उनले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई अघि बढाएका छैनन् । प्रतिक्रियाविहीन बनेर आफ्नै कार्यकक्षमा बसिरहेका छन् । कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेको सार्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादीको प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको दाबी हिजै पेस भइसकेको छ । कार्कीले संवैधानिक व्यवस्थान अनुसार आधिकारिक हिसाबले मुख्यमन्त्री दाबी गरेपनि प्रदेश प्रमुखले नियुक्तिमा अलमल गरिरहेका हुन् । समय सकिँदा पनि मुख्यमन्त्री नियुक्त नगरेपछि प्रदेश प्रमुख खापुङलाई गठबन्धनबाट ग्रसित भएको आरोप लाग्न थालेको छ । कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा बहुमत पु¥याउँदै कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए । आङ्बोले पनि कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी ४ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गरेका हुन् । कार्कीलाई साथ दिएका सांसदको हस्ताक्षर दुरुपयोग गरेका आङ्बोको दाबी आधिकारिक हुन नसक्ने कानुनका विज्ञहरु बताउँछन् । त्यसो हुँदा बहुमत पु¥याएर मुख्यमन्त्री दाबी गरेका कार्कीलाई प्रदेश प्रमुखले नियुक्त गर्नुपर्ने हो । कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग राख्दै उनलाई समर्थन गरेका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेको पौने घण्टा भइसकेको छ । कार्की समर्थक सांसद प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिको प्रतीक्षा गरेर बसिरहे पनि प्रदेश प्रमुखले आनाकानी गरिरहेका हुन् । नियुक्तिको विषयलाई लिएर उनले केही भनेका पनि छैनन् । यसअघि उनले ५ बजेपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने बताएका थिए । कार्की समर्थक सांसदहरु आफूहरुको नाम र हस्ताक्षरसहित सशरीर उपस्थित छन् । उनीहरुले तत्काल मुख्यमन्त्री नियुक्तिको माग गर्दै दबाब बढाइरहेका छन् । उनीहरु प्रदेश प्रमुखको व्यवहारप्रति रुष्ट छन् । संविधान र सर्वोच्चको फैसला बमोजिम संवैधानिक प्रक्रिया पूरा गरेर दाबी गरिएका कारण कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिनुपर्ने एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीको भनाइ छ । समय सकिँदा पनि मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि नबढाएपछि सांसदहरु सशंकित हुनुपर्ने अवस्था आएको उनले बताए । कार्कीलाई समर्थन गर्ने सबै जना सशरीर उपस्थित हुँदा पनि प्रदेश प्रमुखले ढिलाइ गरेको भण्डारीले बताए । भने, ‘हुन त नियुक्तिको तयारी हुँदैछ होला । प्रक्रिया पूरा गर्न केही समय लागेको हुनसक्छ ।’ प्रदेशमा ६ जना सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने नयाँ सरकार गठनका विषयलाई लिएर तटस्थ बसेको छ । मुख्यमन्त्री नियुक्तिमा ढिलाइ गरेपछि एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की र मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीलगायत प्रदेश प्रमुखसँग छलफलमा बसेका छन् । छलफल भर्खर सुरु भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार