कोसीका प्रदेश प्रमुखले गरेनन् मुख्यमन्त्री नियुक्ति, समर्थन गर्ने सांसदको सनाखत भोलि

शुक्रबार, २६ असोज २०८०
विराटनगर/ कोसी प्रदेशका प्रमुख पर्शुराम खापुङ आफैंले दिएको समयसीमा सकिएपछि पनि मुख्यमन्त्री नियुक्ति नगरिकन त्यत्तिकै टारिदिएका छन् । उनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिए थिए । समय घर्किदा पनि मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढाएनन् । नियुक्तिपूर्व समर्थन गर्ने सांसदको सनाखत गराउनुपर्ने भनेर उनले मुख्यमन्त्री नियुत्तिका लागि दबाब दिन पुगेका सांसदहरुलाई बिदा गरेका छन् । केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग राख्दै उनलाई समर्थन गरेका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । तर, खापुङले सांसदहरुको सनाखत शनिबार गर्ने बताए । मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएपछि कार्की र उनलाई समर्थन गरेको दल एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसँग प्रदेश प्रमुखले छलफल गरेका थिए । कार्कीद्वयसँगको भेटमा खापुङले समर्थन गरेका सांसदको हस्ताक्षरको सनाखत गर्ने आश्वासन दिए । उनले त्यसका लागि शनिबार दिउँसो २ बजेको समय दिएका छन् । प्रद्येश प्रमुखको आश्वासनमा कार्कीद्वय पनि सकारात्मक बनेपछि दबाब दिन पुगेका सांसदहरु फर्किएका छन् । कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेको सार्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादीको प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको दाबी हिजै पेस भइसकेको छ । कार्कीले संवैधानिक व्यवस्थान अनुसार आधिकारिक हिसाबले मुख्यमन्त्री दाबी गरेका छन् । तर, प्रदेश प्रमुखको हस्ताक्षर सनाखतको नाममा नियुक्ति नै गरेनन् । खापुङमाथि गठबन्धनबाट ग्रसित भएको आरोप लाग्ने गरेको छ । कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा बहुमत पु¥याउँदै कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए । आङ्बोले पनि कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी ४ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गरेका हुन् । कार्कीलाई साथ दिएका सांसदको हस्ताक्षर दुरुपयोग गरेका आङ्बोको दाबी आधिकारिक हुन नसक्ने कानुनका विज्ञहरु बताउँछन् । त्यसो हुँदा बहुमत पु¥याएर मुख्यमन्त्री दाबी गरेका कार्कीलाई प्रदेश प्रमुखले नियुक्त गर्नुपर्ने हो । कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग राख्दै उनलाई समर्थन गरेका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेर बसेका थिए । सांसदहरु आफूहरुको नाम र हस्ताक्षरसहित सशरीर उपस्थित थिए । प्रदेशमा ६ जना सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने नयाँ सरकार गठनका विषयलाई लिएर तटस्थ बसेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार