धान बालीमा किराको प्रकोप बढेपछि सुनसरीका कृषक चिन्तित

शनिबार, ०४ कार्तिक २०८०
इटहरी । धान बालीमा किराको प्रकोप बढेपछि सुनसरीका कृषक चिन्तित बनेका छन् । कुनै वर्ष बाढी, कुनै वर्ष खडेरी त कुनै वर्ष हावाहुरीबाट पीडित कृषक यो वर्ष किराको प्रकोपमा परेका हुन् । धानमा किराबाट बचाउन विषादी छर्कँदै गरेका सुनसरी रामधुनी १ का बालक दास सरदार विगतका वर्षहरूमा धान बालीमा यस्तो किराको प्रकोप नभएको सुनाउँछन् । खेतमा धान राम्रो भए पनि एक चौथाइ धान किराले नष्ट गरिदिएको उनको भनाई छ । धान बालीमा धान पसाउन साथ किरा लाग्ने र वरिपरिको भाग बाँझै हुने गरी किराले सखाप बनाएको हो । इनरुवाकी मैतुन खातुन भन्छिन्, धान पोसाउँदै गर्दा किराले नष्ट गरिदियो । यस वर्ष हामी अर्को चपेटामा पर्यौं । सुनसरीकै भरतलाल चौधरी रञ्जित धान र जिरा मसिनोलाई किराको प्रकोप ज्यादा रहेको सुनाउँछन् । उनी भन्छन्, मेरो त रञ्जित धान छैन, तर वरिपरिको किराले सकाएको छ । यता किराको प्रकोप बढेपछि कृषि ज्ञान केन्द्र सुनसरीले किराको प्रकोपबारे कृषकहरूलाई काउनसिलिङ गर्ने र आवश्यक विषादी समेत प्रदान गर्ने गरेको छ । कार्यालयका प्रमुख नीलकमल सिंह भन्छन्, ‘कृषक किराको प्रकोपको समस्या लिएर आउनुभएको छ । यसलाई हामीले आवश्यक सहयोग र सल्लाह दिएका छौँ ।’ जमिनमा बढ्दो रसायनीक मलको प्रयोग र प्लास्टिकजन्य पदार्थका कारण कृषिमा समस्या देखिन थालेको जानकारहरू बताउँछन् । कृषक अभियन्ता पुष्पराज प्याकुरेल भन्छन्, ‘जमिनमा प्लास्टिक जथाभाबी फाल्ने र रासायनिक मलको अझ ज्यादा प्रयोग गर्ने यो भने अवस्था जटिल बन्न सक्छ ।’ उनका अनुसार यसलाई नियन्त्रण गर्नका लागि सरकारले नै विशेष योजना ल्याएर यो विकराल अवस्थालाई समाधान गर्नु पर्दछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार