महेन्द्रनगर : मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार ग्रहण गरेका छन् । जनकपुरधाममा रहेको प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गर्दै नवनियुक्त सभामुख यादवले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने बताए ।
सभामुख यादवले राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई बढावा दिने समेत जानकारी गराए । “मतभेद स्वाभाविक हो । तर, सहकार्य अपरिहार्य छ”, यादवले भने । प्रदेशको हितका लागि सबै दलसँग समन्वय गर्दै अघि बढ्ने उनको भनाइ थियो । मधेसका मुद्दा समावेशिता, सुशासन, शिक्षा र स्वास्थ्यको पहुँच, रोजगारी सिर्जना र सीमावर्ती क्षेत्रका चुनौतीलाई संसदीय कार्यसूचीमा प्राथमिकताका साथ उठाइने समेत यादवले उल्लेख गरे ।
प्रदेशसभाले कार्यपालिकामाथि प्रभावकारी निगरानी कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै सभामुख यादवले बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र सेवाप्रवाहको गुणस्तरमा सुधारका विषयमा संसद् सशक्त हुनुपर्ने बताए । सभामुख यादवले प्रदेशसभालाई लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन्।
प्रतिक्रिया