इन्गेजमेन्ट टुटेपछि आफैमाथी आगो लगाएर ‘आत्मदाह’ गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।
धुम्बराहीको पिपलबोट चोक नजिकै रहेको संग्रौलाको घर अगाडि १९ मंसिरमा जलिरहेको अवस्थामा न्यौपाने भेटिएकी थिइन् । उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।
न्यौपानेको परिवारले सुदनसहित उनका ५७ वर्षीय बुबा दिनेश, आमा बिन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध पनि आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएको थियो । तर, अदालतले बुबाआमा र दाइलाई हाजिरी जमानीमा सोही समयमा छाड्न आदेश दिएको थियो ।
प्रतिक्रिया