दमकमा बनिरहेको भ्युटावरको काम अन्तिम चरणमा

मंगलबार, २८ कार्तिक २०८०
दमक/  झापाको दमक–३ स्थित दापगाछीमा बनिरहेको भ्युटावरको काम ९० प्रतिशत सकिएको छ । डेढ अर्बमाथि लगानीमा भ्युटावर बनिरहेको छ । सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका प्रमुख सुदीप पौडेलका अनुसार भ्युटावर सम्पन्न गर्नका लागि मंसिर अन्तिमसम्म समय थपिएको छ । तर मंसिरसम्म काम नसकिने पौडेलले जानकारी दिए । सरकारले कामको भुक्तानी गर्न सक्ने अवस्था नभएकाले ढिलो हुने बताइएको छ । अर्थ मन्त्रालयले नै पैसा नपठाएपछि योजना सक्न एक–दुई महिना थप लाग्ने उनले बताए । हाल यो योजनाको लागत बढेर एक अर्ब ६५ करोड पुगेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाले जनाएको छ । भ्युटावर निर्माणको काम समयमा नसकिएपछि तीनपटक म्याद थपिएको छ । अब मंसिर मसान्तसम्म समय छ । भ्युटावरको भित्री काम लगभग सकिएको सघन सहरीले जनाएको छ । भ्युटावरका केही भित्री कामबाहेक बगैँचा तथा पार्क निर्माणको काम रहेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका भ्युटावर हेर्ने परियोजना इन्जिनियर भूपेन्द्रकुमार यादवले जानकारी दिए । अब फिनिसिङ, बगैँचा तथा फुटपाथ निर्माणको काम र मुख्य भवनमा इलेक्ट्रिकल सेनिटरीको काम बाँकी छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एक सय मिटर अग्लो १८ तले भ्युटावर निर्माणका लागि २०७६ असार २७ गते ठेक्का लागेको थियो । २०७८ पुस २७ गते सक्नेगरी चनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का लिएका थिए । साभार ः झापा टुडे

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार