इटहरी : सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रकरणमा छानबिनका लागि नेपाल प्रहरीले लेखा विज्ञ मगाएको छ । सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक विरुद्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा १ सय १४ जना पीडितहरूले सोमबार किटानी जाहेरी दिएका थिए । सोही किटानीका आधारमा प्रहरीले थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाएको हो ।
मुलुकी फौजदारी संहिता २०७४ को दफा २३ मा विज्ञको राय लिन सकिने व्यवस्था बमोजिम प्रहरीले लेखा विज्ञ पठाइदिन प्रदेश सहकारी रजिस्टार कार्यालयलाई पत्र पठाएको छ । प्रहरीले विज्ञ माग्दै पत्र पठाएको पुष्टि गदै सहकारी अधिकृत (आठौँ) मनोज कार्कीले छिटै विज्ञ पठाउने तयारी भइरहेको जानकारी दिए ।
सहकारी सञ्चालकहरूको राहदानी रोक्काका लागि राहदानी विभागलाई लेखि पठाइसकिएको छ । उनीहरू ठगी प्रकरण नसुल्झाउँदा सम्म विदेश जा नसक्ने छैनन् ।
पीडितहरूले आफ्नो फसेको रकम टिपाउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी दिएको अम्बे कोसी पीडित सङ्घर्ष समितिका अध्यक्ष दुर्गा कोइरालाले जानकारी दिए ।
४० करोड बढी हिनामिना,सफ्टवेयरमै बदमासी
सहकारीमा पैसा जम्मा गरेका ५ हजार भन्दा बढी सदस्यको ४० करोड भन्दा बढी रकम जोखिममा परेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सहकारीले आफ्नो सफ्टवेयरमै बदमासी गरेको पाइएको छ । सहकारीले साधारण सभा समेत नगरेको पाइएको छ । २ वर्ष अघिको प्रमाणित अडिट रिपोर्टअनुसार ६१ करोड बचत रहेको देखिएको थियो । अहिले सफ्टवेयरमा भने ४० करोड देखिएको छ । कतिपय ऋण नै नलिएकाहरूको नाममा समेत ऋण लिएको देखिएको छ ।
आफ्नो पैसा जाखिममा परेपछि निवेदन दिनेहरूमा सबैभन्दा बढी इटहरीका हेमन्त जिन्जलको ३ करोड ६० लाख,इटहरीकी गीता ढकालको १ करोड ६० लाख ,सञ्जय अग्रवालको १ करोड ५० लाख रुपैयाँ फसेको देखिएको छ । सहकारीका १० हजार बचतकर्ता मध्ये कम्तीमा ५ सय रुपैयाँ पनि बचत फसेको देखिएको छ । यस्तै २ लाख देखि ११ लाख सम्म २७ सय जनाको पैसा फसेको देखिएको छ । ५ हजार ३ सय सेयर सदस्य रहेको सहकारीको केन्द्रीय कार्यालय इटहरीमा भए पनि विराटनगर,दमक,बिराटचोकमा शाखा खोलिएको थियो । सेयर सदस्यको ५ करोड ८७ लाख कुल रकम रहेको सहकारीमा बचतकर्ताहरुको मात्रै ४० करोड रकम बचत रहेको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।
सञ्चालक खोज्दै प्रहरी
११ जना सञ्चालकबिरुद्ध ठगीको मुद्दा परे पनि प्रहरीले ६ जनाको सुई को समेत पाउन सकेको छैन । प्रदेश सहकारी रजिस्टार को कार्यालय इनरुवाले अम्बे कोसीको ११ जना सञ्चालकहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा ठगी मुद्दा चलाएको भए पनि प्रहरीले हाल सम्म ४ जनालाई मात्र पक्राउ गरेको छ । पक्राउ परेकी अध्यक्ष मगरकी पत्नीलाई पनि सोधपुछ गरेर छाडिएको छ ।
रजिस्टार कार्यालयले इटहरी ४ का देवेन्द्र बस्नेत,इटहरी ६ का सागर राई,४ कै टेकबहादुर चर्मकार, ओखलढुङ्गा घर भएका भोजकुमार पुलामी मगर र इटहरी ४ कै मीनकुमार मगरविरुद्ध सहकारी ठगी विरुद्ध मुद्दा दायर गरेको थियो । कर्मचारी,सञ्चालक र लेखा समिति र व्यवस्थापक गरी ११ जनाविरुद्ध उजुरी परेको छ । उनीहरू सबै विरुद्ध जिल्ला अदालत सुनसरीले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले फरार रहेकाहरूको खोजी गरिरहेको छ ।
अहिले सहकारीको सफ्टवेयरमा बचत रकम ४० करोड देखिएको छ भने सेयर रकम ५ करोड ८७ लाख छ । विना धितो ३२ करोड सञ्चालक समितिलेनै अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । धितो बिनानै आफू र आफूले भनेका मानिसहरूलाई जथाभाबी रकम दिएको पाइएको छ । सेयर सदस्य गङ्गा प्रसाद शाहलाई डेढ करोड दिएका छन् । उनी पक्राउ परिसकेका छन् । शाह जस्ता इटहरीका अरू दर्जन बढी व्यक्तिलाई पनि विना धितो अध्यक्षले एकल निर्णयका आधारमा जथाभाबी पैसा लगानी गर्दा सहकारीमा जम्मा रकममा गम्भीर अपचलन देखिएको छ । बचतकर्ता १ सय १४ जनाले सोमबार किटानी जाहेरी दिइसकेका छन् भने आज थप १ सय भन्दा बढी पीडितले निवेदन तयार गरेको सङ्घर्ष समितिका अध्यक्ष कोइरालाले बताए ।
अध्यक्षको ११ वटा सहकारीमा संलग्नता
अम्बे सहकारीका अध्यक्ष मगरको ११ वटा सहकारीमा संलग्नता पाइएको स्रोतले बतायो । झरना बचत , प्रेरणा झुम्का, धन प्राप्ति बानेश्वर, हलेसी बचत इटहरी र ओखलढुंगामा एक शहकारीमा समेत उनको संलग्नता भेटिएको छ । अध्यक्ष मगरले इटहरीका नेत्र कार्कीसँग मिलेर मोरङको सुन्दरहरैचा नगरपालिकामा गार्मेन्ट खोलेको तर चलाउन नसकेर बन्द भएको छ । नेत्रको नाममा १ बिगाहा जमिन समेत रहेको छ ।
प्रहरीले फरार रहेकाहरूको घरघरमा खोजी गरिरहेको छ । फरारहरू परिवारका सदस्यसँग सम्पर्कमा रहेको हुनसक्ने भन्दै उनीहरूका आफन्तहरुमाथि समेत निगरानी बढाउको छ । केही सूचना पाइसकेकाले अब छिट्टै फरार रहेकाहरू पक्राउ पर्ने प्रहरीले बताएको छ ।
हेर्नुस् उजुरी
प्रतिक्रिया