राष्ट्रिय माध्यमिक विद्यालयको ६८ औँ वार्षिकोत्सव सम्पन्न,६७ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान

बुधबार, १३ मंसिर २०८०
 इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले बुधवार ६७ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । विद्यालयको ६८ औँ वार्षिकोत्सवमा बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति रकम वितरण गरिएको हो ।
विद्यालयले इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलका बाबु–आमा शेरबहादुर पौडेल र रेणुका पौडेलले स्थापना गरेको स्वर्गीय होमनाथ पौडेल स्मृति अक्षयकोषबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ तर्फका विपिन बास्तोला र रिया अग्रहरीलाई छात्रवृत्ति प्रदान गरियो । बास्तोला र अग्रहरीलाई जनही तीन हजार दुई सयका दरले छात्रवृत्ति प्रदान गरियो ।
यस्तै, नारायणप्रसाद खनाल र केशवकुमारी खनालद्दारा स्थापना गरिएको स्वर्गीय समीक्षा खनाल स्मृति अक्षयकोषबाट कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउने सालकुमारी राईलाई नगद एक हजार ५०५ रुपैयाँ प्रदान गरिएको छ ।
यसैगरी, हरिहर चौधरी र भुन्टीदेवी चौधरीद्वारा स्थापना गरिएको स्वर्गीय प्रमोद चौधरी स्मृति अक्षयकोषबाट २०७९ सालको एसइई परीक्षामा गरिब तथा जेहेन्दारमध्येबाट प्रतीक राई र आयुषा भण्डारीलाई प्रदान गरियो । दुवैलाई जनही एक हजार १०५ रुपैयाँका दरले प्रदान गरियो ।
विद्यालयका शिक्षक लोकबहादुर भण्डारी र उहाँकी श्रीमती रज्जु भण्डारीद्वारा स्थापना गरिएको स्वर्गीय होमबहादुर भण्डारी स्मृति अक्षयकोषको छात्रवृत्ति कक्षा ६ मा उत्कृष्ट अङ्क ल्याउने कुशल गौतम, समीक्षा घिमिरे र निता कार्कीलाई प्रदान गरियो । उनीहरूमध्ये गौतम र घिमिरेलाई जनही एक–एक हजार रुपैयाँ प्रदान गरियो भने कार्कीलाई भने एक हजार पाँच सय प्रदान गरियो ।
विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेत र शिक्षिका वन्दना दाहालले स्थापना गरेको स्वर्गीय जगन्नाथ, द्रौपदीदेवी, वैद्यनाथ स्मृति अक्षयकोषबाट कक्षा ८ को नगर स्तरीय कक्षा ८ मा प्रथम भएका प्रनिश बस्नेत र  नगर स्तरीय कक्षा ५ मा प्रथमसँगै गणित विषयमा उत्कृष्ट अङ्क ल्याउने लज्यूङ् शेर्पालाई छात्रवृत्ति प्रदान गरियो । बस्नेतलाई एक हजार ५०० र शेर्पालाई नगर स्तरीय प्रथम र गणितमा उत्कृष्ट ल्याएकोमा विधागत रूपमा एक–एक हजार रुपैयाँ प्रदान गरियो ।
यसैगरी, स्वर्गीय लोकेन्द्रप्रसाद अधिकारी र दुर्गादेवी अधिकारीले स्थापना गरेको स्वर्गीय जमुनादेवी अधिकारी स्मृति अक्षयकोषमार्फत कक्षा ६ मा अध्ययन गर्ने उत्कृष्ट लोपोन्मुख विद्यार्थीमध्ये जानुका राजी, असहाय कक्षा ४ मा अध्ययन गर्ने प्रज्ञा खुलाल र कक्षा ११ शिक्षा समूहमा उत्कृष्ट नतिजा ल्याउने सीमा क्षेष्ठलाई छात्रवृत्ति प्रदान गरियो । उनीहरूमध्ये राजीलाई एक हजार ५०० र खुलाल तथा श्रेष्ठलाई एक–एक हजार प्रदान गरियो ।
बर्सेनि अक्षयकोष स्थापना गर्ने दाताको सङ्ख्या बढिरहँदा पद्मादेवी खनालले स्थापना गरेको स्वर्गीय नैनकला, हेमसागर, वसुन्धरा स्मृति अक्षयकोषबाट बाल विकासमा पहिलो भर्ना हुने रोमन निरौलालाई ५१० रुपैयाँ छात्रवृत्ति प्रदान गरियो ।
इटहरी वडा नं. २ निवासी विद्यालय परिसरमा सरस्वती मन्दिर स्थापना गर्ने दाता बद्रीप्रसाद बजगार्ई र बबिता बजगाईँले स्थापना गरेको स्वर्गीय उमानाथ बजगाईँ स्मृति अक्षयकोषमार्फत एसइई मा सर्वोत्कृष्ट नतिजा ल्याउने सिम्रन बिशुन्खे र आदित्य सिग्देललाई छात्रवृत्ति प्रदान गरियो । बिशुन्खे र सिग्देललाई जनही एक हजार ६१० रुपैयाँका दरले प्रदान गरियो । यस्तै, बजगाईँ दम्पतीद्वारा स्थापना गरिएको कोषमार्फत कक्षा ८ मा अध्ययन गर्ने गरिब तथा असहाय विद्यार्थीमध्ये जेनिसा भट्टराई र सृष्टि नेपाललाई जनही एक हजार ६१० का रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरियो ।
विद्यालयमा छात्रवृत्ति वितरणका लागि २३ वटा अक्षयकोष स्थापना गरिएकोमा खेमराज पोखरेल, नम्रता पोखरेल र निश्चल पोखरेलले स्थापना गरेको स्वर्गीय फडिन्द्रप्रसाद स्मृति अक्षयकोषमार्फत कक्षा ५ मा अध्ययन गर्ने लज्यूङ् शेर्पा, कक्षा ८ मा अध्ययनरत प्रनिश बस्नेत र कक्षा ९ मा अध्ययनरत आर्जु थापालाई छात्रवृत्ति प्रदान गरियो । जसमा शेर्पालाई एक हजार ८४ रुपैयाँ र बस्नेत तथा थापालाई जनही एक हजार एक सय रुपैयाँ प्रदान गरियो । यस्तै, इटहरी वडा नं. १ कै प्रह्लाद दाहाल र बालकुमारी दाहालद्वारा स्थापना गरिएको स्वर्गीय रोमणीप्रसाद–शान्ता दाहाल अक्षयकोषमार्फत कक्षा ५ मा अध्ययन गर्ने सीमान्तकृत विद्यार्थीमध्ये जेनिसा माझीलाई नगद एक हजार २३० रुपैयाँको छात्रवृत्ति प्रदान गरियो ।
यस्तै, डम्बरबहादुर कटुवालले स्थापना गरेको स्वर्गीय चन्द्रबहादुर कटुवाल स्मृति अक्षयकोषमार्फत एसइई मा गणित विषयमा ए प्लस ल्याउने आदित्य सिग्देल, प्रशान्त बस्नेत र प्रतीक राईलाई जनही सात–सात सय रुपैयाँका दरले प्रदान गरियो । यही कोषमार्फत कक्षा १२ मा दलित विद्यार्थीमध्ये उत्कृष्ट अङ्क ल्याउने बबिता कुमारी दर्जी बर्देवा र कक्षा ५ मा उत्कृष्ट अङ्क ल्याउने प्रद्युम्न दाहाललाई छात्रवृत्ति प्रदान गरियो । बर्देवालाई दुई हजार ४२० र दाहाललाई दुई हजार रुपैयाँ प्रदान गरिएको हो ।
विद्यालयका पूर्व विद्यार्थीहरूको समूहले स्थापना गरेको अक्षयकोषमार्फत एक शैक्षिक सत्रमा कक्षा १ देखि १० सम्म सबैभन्दा बढी उपस्थित हुने कक्षा ४ मा अध्ययन गर्ने मुना कार्की र करुण कार्कीलाई जनही एक हजार ४०५ रुपैयाँका दरले प्रदान गरियो । नियमित रूपमा विद्यालयमा विद्यार्थी आउने विद्यार्थीका अभिभावकमध्ये मुनाका बाबु नगेन्द्रप्रसाद कार्की र करुणका बाबु अम्मरबहादुर कार्कीलाई विद्यालयका तर्फबाट उत्कृष्ट अभिभावकको रूपमा सम्मान पनि गरिएको छ ।
पूर्व विद्यार्थीले स्थापना गरेको कोषमार्फत एसइई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययन गर्न अत्यन्त कठिनाइ भएकी पुष्पा चौधरीलाई १५ हजार  रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरियो । पूर्व विद्यार्थी समूहमा सम्पत चौधरीको पहलमा अहिलेसम्म ३२ जनाले अक्षयकोषमा झन्डै दुई लाख  रुपैयाँ जम्मा गरी सकेका छन् । यो कोषमा पनि बर्सेनि रकम वृद्धि भइरहेको  छ ।
 विद्यालयमा लामो समय शिक्षण गरी रिटायर भएकी शिक्षिका तृप्ता मगरद्दारा स्थापना गरिएको तृप्ता मगर अपाङ्ग छात्रवृत्ति कोषमार्फत कक्षा ११ मा अध्ययन गर्ने सन्तोष मगरलाई दुई हजार ११ रुपैयाँ र कक्षा ६ की बबि राईलाई एक हजार ५५६ रुपैयाँ छात्रवृत्ति प्रदान गरियो । यस्तै, इन्द्रबहादुर न्यौपाने र खडकुमारी न्यौपानेले स्थापना गरेको अनन्तदेवी न्यौपाने स्मृति अक्षयकोषको रकमबाट आधारभूत तहमा उत्कृष्ट अपाङ्ग छात्रा बबि राईलाई नगद तीन हजार ३०३ रुपैयाँ प्रदान गरियो ।
यस क्रममा यादवप्रसाद पराजुली र सावित्री पराजुलीले स्थापना गरेको जुनियर रेडक्रस युवा प्रोत्साहन छात्रवृत्ति कोषमार्फत कक्षा ९ का कविराज पराजुली र सुनिता कार्कीलाई प्रदान गरियो । कोषमार्फत जनही एक हजार ६५२ रुपैयाँ प्रदान गरियो । यस्तै, इन्द्रबहादुर आचार्य खत्रीले स्थापना गरेको स्वर्गीय जगनाथ, देवीमाया र भीष्मराज आचार्य स्मृति अक्षयकोषमार्फत कक्षा १२ मा उत्कृष्ट ग्रेड ल्याउने हर्कराज राई, डेनिशा कँडेल र डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरमा उत्कृष्ट ग्रेड ल्याउने विपिन बास्तोलालाई छात्रवृत्ति रकम प्रदान गरियो । राई र कँडेललाई जनही दुई हजार २०५ रुपैयाँ प्रदान गरियो भने बास्तोलालाई दुई हजार १६० रुपैयाँ प्रदान गरियो ।
वार्षिकोत्सवका क्रममा खेमनाथ निरौलाले स्थापना गरेको अवच्छरा, महानन्द, वसुन्धरा निरौला स्मृति अक्षयकोषमार्फत एसइई मा उत्कृष्ट अङ्क ल्याउने दलित विद्यार्थीमध्ये सिम्रन विसुङ्खेलाई दुई हजार ९७७ रुपैयाँ, एसइई प्रथम हुने आदित्य सिग्देललाई दुई हजार एक सय रुपैयाँ, दीपा बस्नेत र आयूसा भण्डारीलाई जनही एक हजार ५० रुपैयाँ रकम छात्रवृत्ति प्रदान गरियो । सो क्रममा विदुर अधिकारीले स्थापना गरेको विष्णुप्रसाद अयोध्यादेवी अधिकारी स्मृति अक्षयकोषमार्फत कक्षा ११ र १२ मा प्रथम अङ्क ल्याउने सालकुमारी राई, कक्षा ९ र १० मा सर्वोत्कृष्ट अङ्क ल्याउने मन्दिरा अधिकारी र कक्षा ६ देखि ८ सम्म सर्वोत्कृष्ट अङ्क ल्याउने मनीषा अधिकारीलाई जनही दुई हजार पाँच सय रकम छात्रवृत्ति प्रदान गरियो । यही कोषमार्फत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट कक्षा ११ की अप्निजा अधिकारी, कक्षा ९ का समीप देवकोटा र प्रावि तहको वार्षिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने कक्षा ४ की कोपिला कार्कीलाई छात्रवृत्ति रकम प्रदान गरियो । अधिकारी र देवकोटालाई जनही एक÷एक हजार रुपैयाँ तथा कार्कीलाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरियो ।
यस्तै, दुर्गाप्रसाद रुकमीण ढकाल स्मृति माध्यमिक छात्रवृत्तिबाट एसइई मा उत्कृष्ट अङ्क ल्याउने आदित्य सिग्देल, पुष्पा चौधरी, सिभिल इन इन्जिनियरिङका मेरिना कार्की, प्रतिमा चौधरी र कक्षा १ देखि इसइइसम्म विद्यालयमा प्रथम हुनेमध्येबाट कोपिला कार्कीलाई जनही एक हजार सात सय ४० रुपैयाँ छात्रवृत्ति प्रदान गरियो । कार्यक्रममा घनश्याम श्रेष्ठ र कुलप्रसाद श्रेष्ठले स्थापना गरेको सुरेन श्रेष्ठ स्मृति छात्रवृत्ति कक्षा ८ मा गणितमा उत्कृष्ट ग्रेड ल्याउने जनजातिमध्ये प्रमेश मगर र अपाङ्ग तथा असहायमध्येबाट कक्षा ४ की प्रतीक्षा अधिकारीलाई प्रदान गरियो । यस्तै, नरदेवी श्रेष्ठ र स्वर्गीय रामप्रसाद श्रेष्ठले  स्थापना गरेको इन्द्रवीर पद्मकुमारी श्रेष्ठ स्मृति कोषमार्फत कक्षा १२ मा सबैभन्दा बढी अङ्क ल्याउने डेनिशा कँडेललाई एक हजार, एसइई मा प्रथम हुने आदित्य सिग्देललाई एक हजार, एसइई मा द्वितीय हुने प्रशान्त बस्नेतलाई सात सय ७५ र तृतीय हुने सिम्रन विशुन्खेलाई चार सय रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरियो । समरबहादुर कार्कीले स्थापना गरेको हवालदार नरबहादुर कार्की स्मृति अक्षयकोष छात्रवृत्ति पनि आदित्य सिग्देलले नै दुई हजार दस रुपैयाँ पाए । यस कोषमार्फत कक्षा ६ देखि ८ सम्म सर्वोत्कृष्ट अङ्क ल्याउने मनीषा अधिकारीले पनि दुई हजार दस रुपैयाँको छात्रवृत्ति रकम पाइन् ।
कार्यक्रममा अक्षयकोष स्थापना गर्नेमध्ये १६ जनालाई सम्मान गरियो । यस्तै, पाँच जना शिक्षक–कर्मचारीलाई नगदसहित सम्मान गरियो । जसमा सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदी, रामु कार्की, सचिन खत्री, पार्वती सिलवाल, भूपराज पुरी र कर्मचारी विष्णुकुमारी तामाङलाई नगदसहित सम्मान गरिएको हो । वार्षिकोत्सवमा इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख फाल्गुनी काफ्लेलाई पनि सम्मान गरियो ।
वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक आय–व्याय विद्यालयका प्रधानाध्यापक शरणकुमार बस्नेतले गरे । जसमा आन्तरिक र बाह्य गरी वार्षिक आम्दानी पाँच करोड ६२ लाख ९५ हजार ६८६ रुपैयाँ र सञ्चालन खर्च पाँच करोड ५७ लाख सात हजार ५६८ रुपैयाँ प्रस्तुत गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा साताव्यापी खेलकुद प्रतियोगिता भएको थियो । खेलकुदका विभिन्न विधामा उत्कृष्ट ३०० जनालाई पुरस्कार प्रदान गरियो । विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई इटहरी उपमहानलपारिका उपप्रमुख सङ्गीताकुमारी चौधरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन् । यही क्रममा शिक्षक र अभिभावकबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि भएको थियो ।
राष्ट्रिय माध्यमिक विद्यालयमा बाल विकासदेखि कक्षा १० सम्म ९८३ जना विद्यार्थी रहेका छन् । यस्तै, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूहमा ६७६ जना विद्यार्थी रहेका छन् । यहाँ डिप्लोमा इन सिभिल इन्जिनियरिङको पनि पठनपाठन हुने गरेको छ । सबै समूहमा गरी कुल एक हजार ७९८ जना विद्यार्थी अध्ययनरत छन्। कुल ५९ जना शिक्षक–कर्मचारी कार्यरत छन् । आगामी वर्षदेखि कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट र विज्ञान समूहमा जीव विज्ञान विषयको पनि पठनपाठन सुरु गर्ने योजना रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार