मोरङको पथरीमा दुर्घटना : मृतकको पहिचान खुलेन, सवारीसाधन फेला परेन

विहीबार, १४ मंसिर २०८०
विराटनगर । मोरङको पथरीमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट बुधबार साँझ एक जना युवकको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । ठक्कर दिने सवारीसाधन पनि फेला परेको छैन । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१ मा सवारीसाधनले साँझ ६ः३० बजेतिर ठक्कर दिँदा अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले घटनाको प्रकृति हेर्दा युवक दुर्घटनामा परेजस्तो देखिने जानकारी दिए । उनका अनुसार गम्भीर घाइते अवस्थामा सडकमा भेटिएका युवकलाई उद्धार गरेर उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याइएको थियो । उपचारका क्रममा साँझ ७ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेका डीएसपी दाहालले बताए । उनका अनुसार हालसम्म मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । ‘पहिचान नखुलेको शव ट्रमा सेन्टरमै राखिएको छ,’ उनले भने, ‘ठक्कर दिने सवारीसाधनको नम्बर पनि खुलेको छैन ।’ मृतकको पहिचानको प्रयास गर्दै दुर्घटना गराउने सवारीसाधनको खोजी तीव्र पारिएको जानकारी दाहालले दिए । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा तीव्र गतिको सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएजस्तो देखिन्छ । ठक्कर दिएर युवकलाई घाइते बनाएपछि उक्त सवारीसाधन प्रहरीलाई छलेर भागेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार