निशा राई
धरान/ दैनिक रूपमा सामाजिक सञ्जालसहित सञ्चारमाध्यमबाट दैनिकजसो बलात्कार तथा महिला हिंसा सम्बन्धी समाचार बाहिरिरहेका छन् । महिला हिंसा न्यूनीकरण गर्न राज्य पक्षबाट विभिन्न कार्यक्रमहरू गरिएपनि प्रभावकारी भएको पाइँदैन ।
अघिल्लो साउन महिनामा महिलाहरूकै कुटपिटबाट धरान १३ बस्ने एकल महिला उषा राईको मृत्यु भएको थियो । यसैगरी गत भदौ महिनामा केके इन्टरनेशनल स्कुल सञ्चालक समितिका अध्यक्ष प्रवीण अग्रवालले सोही स्कुल पढ्ने १२ वर्षीय विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो । दोषी पक्राउ परेपनि धरौटीमा छुटिसकेका छन् ।
माथि उल्लेखित प्रतिनिधि पात्र मात्र हुन् ।
यौन शोषण, घरेलु हिंसा लगायत अपराधबाट महिला, बालबालिकाहरू पीडित हुने क्रम घटेको छैन । यद्यपि, पछिल्लो समय पुरुषहरूले पनि घरेलु हिंसामा उजुरी गरेको इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कले देखाएको छ ।
धरान उपमहानगरमा गत साउन महिनादेखि कात्तिक महिनासम्ममा एक सय ४१ जनाले घरेलु हिंसा सम्बन्धी इलाका प्रहरी कार्यालय धरान सुनसरीमा निवेदन आएको प्रहरी नायब उपरीक्षक डिएसपी नवराज मल्लले बताए ।
मल्लका अनुसार १० जना पुरुषहरूले घरेलु हिंसा पीडित भएको उजुरी गरेका छन् ।
‘हामीकहाँ आएका उजुरीमध्ये धेरै जसोलाई सम्झाई बुझाई मिलापत्र गराउन कोसिस गर्दै आएका छौँ । धेरैजसोलाई मिलापत्र गर्न सफल पनि भएका छौँ’ उनले भने ।
आर्थिक वर्ष २०७६/०७७ मा २ सय ४६ उजुरी परेकोमा २ सय ३ जनालाई मिलापत्र गराइएको, २०७७/०७८ मा २ सय १ वटा निवेदन परेकोमा ९५ वटा उजुरीमा मिलापत्र गराएको उनले बताए ।
यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा घरेलु हिंसाका १ सय ६० लैङ्गिक हिंसामा १ सय जनाले उजुरी गरेमा घरेलु हिंसाको सम्बन्धमा ९६ वटा र लैङ्गिक हिंसामा ७५ वटा उजुरीमा मिलापत्र गरिएको, आर्थिक वर्ष २०७९/०८० मा घरेलु हिंसामा २ सय ७२ जना र लैङ्गिक हिंसामा १ सय ५७ जनाले उजुरी गरेमा घरेलु हिंसाको सम्बन्धमा १ सय १५ र लैङ्गिक हिंसामा १ सय १० वटा उजुरीमा मिलापत्र गराएको प्रहरीको तथ्याङ्कमा छ ।
घरेलु हिंसा तथा अन्य अपराधबाट सिर्जित परिणामका कारण आत्महत्या गर्नेको सङ्ख्या पनि विकराल देखिने तथ्याङ्कले बताउँछ । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७÷७८ मा धरानमा ४६ जना, आर्थिक वर्ष ०७८÷७९ मा ५७ जना, आर्थिक वर्ष ०७९÷८० मा ४० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुष र महिलाको सङ्ख्या उस्तै रहेको प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए । आत्महत्याको मुख्य कारण घरेलु हिंसा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
महिला हक अधिकार कानुनमा लेखिए पनि व्यवहारमा अक्षरंश पालना हुन नसक्दा हिंसा भइरहेको उनको भनाइ छ ।
हिंसा न्यूनीकरणका लागि समानुपातिक समावेशी प्रतिनिधित्व, लैङ्गिक समता, आर्थिक सबलीकरण, सम्पत्तिमा समान हक, न्यायमा महिलाको सहज पहुँच, छिटोछरितो न्याय प्रणालीहरू भए पनि यसको प्रभाव नभएको देखिन्छ ।
यस्तै, तथ्याङ्क अनुसार आ।व।२०७७र७८ मा २० जना, आ।व।२०७८र७९ मा ९ जना, आ।व।२०७९र८० मा २४ जना र आ।व।२०८०र८१ को साउन महिनादेखि कात्तिक महिना सम्म ७ जना महिला तथा किशोरी बलात्कारको शिकारमा परेका छन् ।
प्रहरी र अन्य औपचारिक तथा अनौपचारिक माध्यममार्फत हिंसा पीडित महिलालाई पीडकसँग मिल्न बाध्य बनाइएका घटनाहरू पनि प्रहरीकहाँ आइपुगेको बताइन्छ ।
महिला बालबालिका सम्बन्धी अपराध हेर्नकै लागि नेपाल प्रहरीले केन्द्रमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र त्यस मातहत देशभर महिला, बालबालिका सेलको स्थापना गरेको छ । त्यसबाहेक विद्यालय, सामाजिक सङ्घसंस्था, समुदाय–प्रहरी कार्यक्रममार्फत पनि महिला हिंसाविरुद्धका अभियान चलाइएका छन् । यद्यपि, हिंसाका घटनामा कमी नदेखिएको जानकारहरू बताउँछन् ।
गत वर्षको तुलनामा यो वर्ष धेरै उजुरी परेको तथ्याङ्कले जनाएको छ । घरेलु हिंसामा धेरैजसो महिलाहरूले उजुरी गरेका छन् । उनीहरूलार्ई खान लाउन र कुटपिट गर्ने भन्ने विषयमा बढी उजुर गर्ने गरेको इलाका प्रहरी कार्यालय धरानस्थित महिला सेलका सहायक हवल्दार राजेन्द्र पञ्चकोटीले बताए ।उनका अनुसार पछिल्लो समयमा पुरुषहरूले पनि घरेलु हिंसामा उजुरी गर्न थालेका छन् ।
जसमध्ये धेरै जसो पुरुषहरूले आफू वैदेशिक रोजगारमा हुँदा घरमा पठाएको रकमको दुरुपयोग भएको र आफू नेपाल आउँदा सम्पत्ति र श्रीमती दुवै नहुने भएको किसिमको उजुरी आउने उनको भनाइ छ ।
यस किसिमका उजुरीले घर, परिवार समाज र राज्यमा छ नै असर पर्ने भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम संयोजक लिला भुजेलले बताइन ।
यस वर्ष धरानमा ‘लैङ्गिक हिंसाको अन्त्यको प्रतिबद्धतास् व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने सन्देशका साथ भानुचौक घण्टाघर स्थितमा लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय धरानको आयोजनामा महिला सञ्जालसँग समन्वय गरेर कार्यक्रम आयोजना गरिएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान निरन्तर १६ दिन सम्म सञ्चालन गर्दै महिला दिदीबहिनीहरूसँग अन्तरक्रिया कार्यक्रमका साथ विभिन्न कार्यक्रम गरी मनाइने मङ्सिर २४ गते समापन गरिने महिला सञ्जाल धरानका अध्यक्ष सपना राईले बताइन् ।
महिलाहरूको सहभागिता रहेको हरेक ठाउँमा हिंसा हुने भएकोले लैङ्गिक हिंसा न्यूनीकरण र नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको बताइएको छ ।
सामान्यतया महिला भएकै कारणले महिलामाथि हुने शारीरिक, सामाजिक यौनिक, आर्थिक, बौद्धिक तथा यौनजन्य अपराधसाथै शोषण यातना एवं दुर्व्यवहार समेतलाई महिला हिंसाको रूपमा लिन सकिन्छ । तसर्थ लिङ्गको आधारमा कुनै पनि प्रकारको अपमानजनक, पीडा, धाक धम्की, करकाप पूर्ण व्यवहार महिलालाई स्वतन्त्रताको उपयोग गर्नबाट वञ्चित गरिने कार्य समेतलाई महिला हिंसा भन्ने गरिन्छ ।
प्रतिक्रिया