उदयपुर/ उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाइ सुन्दरपुरस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल दुई वर्षअघि बाढीले भत्काएपछि पुनः निर्माणको माग गर्दै सुन्दरपुरवासीले सङ्घर्ष समिति गठन गरेका छन् ।
भत्किएको पुल पुनः निर्माणको माग गर्दै शुक्रवार चौदण्डीगढी–५ का वडाध्यक्ष तुलसीराम ढकालको संयोजकत्वमा ११ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको संयोजक ढकालले बताए ।
उनका अनुसार त्रियुगा नदीमा निर्माण भइरहेको पुलको पाँच वटा पिलर २०७८ असार २९ गतेको बाढीले भत्काएको थियो ।
पुलको पिलर बाढीले भत्काएपछि सरोकारवाला निकाय तथा निर्माण कम्पनीले पुनः निर्माणमा बेवास्ता गरेकाले काम अगाडि बढाउनका लागि दबाब दिने लक्ष्यका साथ सङ्घर्ष समिति गठन गरिएको ढकालले बताए । उनका अनुसार समितिले तीन चरणमा सङ्घर्ष गरी पुल पुनः निर्माणका लागि दबाब दिनेछ ।
“पहिलो चरणमा स्थानीय, प्रदेश तथा र सङ्घीय सरकारलाई ज्ञापन पत्र दिनेछौँ ।
सुनुवाइ नभए प्रदेश र सङ्घीय सांसदलाई सुन्दर पुर क्षेत्र प्रवेशमा रोक लगाइ बहिष्कार गर्नेछौँ”, समितिका उपसंयोजक देवनारायण चौधरीले भने, “फेरी पनि सुनुवाइ नभए काठमाडाँैको माइतीघर क्षेत्रमा आमरण अनशन बसेर भए पनि पुल पुनः निर्माणका लागि दबाब दिनेछौँ ।”
२०६७ मा सम्झौता भई निर्माण कम्पनीले काम सुरु गरेको थियो । तीन सय सात मिटर लम्बाइ र छ मिटर चौडाइको उक्त पुलमा १३ वटा पिलर निर्माण भइसकेको थियो ।
विसं २०७८ मा आएको बाढीले पाँच वटा पिलर भत्काएको चौधरीले बताए । उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयको करिब नौ करोड ७६ लाख बजेटमा उक्त पुल निर्माण थालेको थियो ।
नदीले पिलर भत्काएपछि सङ्घीय तथा प्रदेश सरकारका साथै निर्माण कम्पनीको ध्यान नगएपछि बाध्य भएर आन्दोलनमा आउन परेको सुन्दरपुरका स्थानीय कालीदास घिमिरेले बताए।
नगर प्रमुख कालु लामाका अनुसार सुन्दरपुरका नागरिकले लामो समयदेखि वर्षाको समयमा वारिपारि गर्न नदीमा डुङ्गा चलाउनुपर्ने बाध्यता भएको बताउँदै पुल निर्माण नहुँदा सिवाइ र सुन्दरपुरका सात सय ५० घरपरिवार समस्यामा परेका जानकारी दिए ।
“निर्माण कम्पनीको लापरबाहीका कारण काम रोकिएको थियो । पछि बाढी आएर बनेका पिलर पनि भत्कायो”, उनले भने ।
पटक पटक दबाब दिँदा पनि काम अगाडि नबढेपछि सङ्घर्ष समिति गठन गरिएको उनको भनाइ थियो ।
प्रतिक्रिया