प्रदेश १:मुख्यमन्त्री बन्न आज ५ बजेसम्ममा दाबी पेश गरिसक्नुपर्ने

आइतबार, २४ पुस २०७९
प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट समाप्त हुँदैछ  । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पुस १७ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । यो बिचमा सत्तारुढ गठबन्धन दलहरुले आन्तरिक छलफल गरेपनि केन्द्रमा भागबण्डा नटुङ्गिएका कारण दाबी पेश गर्न सकेनन् । आज साँझसम्म दाबी पेश गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन् ।  यद्यपि सबैभन्दा ठूलो दल नेकपा एमाले रहेकाले उसैले मुख्यमन्त्री पाउने सम्भावना छ । यस्तो अवस्थामा एमालेका हिक्मत बहादुर कार्की मुख्यमन्त्री हुनेछन् । सभामुख नेकपा माओवादी केन्द्रले पाउने छ । प्रदेश १  मा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा र जसपासहितको गठबन्धन दुई तिहाइ बहुमत नजिक छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ  । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० जना सांसद रहेका छन्  । प्रदेशसभामा २९ सांसद भएको कांग्रेस र ४ सांसद भएको नेकपा एकीकृत समाजवादी पार्टी प्रतिपक्षमा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार