भूकम्प प्रभावितका लागि काँग्रेसले बनायो थप ५० टहरा

विहीबार, २८ मंसिर २०८०
काठमाडौँ । जाजरकोट भूकम्पबाट पीडितहरूकालागि एक हजार वटा अस्थायी आवास निर्माण गर्ने घोषणा गरेको काँग्रेसले रुकुम पश्चिममा थप ५० वटा टहरा निर्माण गरी हस्तान्तरण गरेको छ ।
केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी नेतृत्वको टोलीले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ५० वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको हो ।
‘म आफैँ पनि १० दिनसम्म फिल्डमा खटिएँ, हामीले दुई चरणमा गरेर ५० वटा अस्थायी आवास निर्माण गरी पीडितलाई हस्तान्तरण गरेका छौँ,’ केन्द्रीय सदस्य सिवाकोटीले भने ।
उनका अनुसार वडा नं. ११ मा २१ वटा, वडा नं. १२ मा ४ वटा, वडा नं. १३ मा ६ वटा र वडा नं. १४ मा १९ अस्थायी आवास निर्माण गरिएको छ ।
‘भूकम्पको यति लामो समय भइसक्यो, तर अझै पनि पीडितसम्म सरकार पुगेको छैन, एकल महिला, बृद्धबृद्धा, अभिभावक गुमाएका, अपाङ्गता भएका र परिवारका सदस्य विदेशमा भएकाहरूलाई सामान्य टहरो ठड्याउन पनि सकस परेको छ,’ उनले भने, ‘हामीले त्यस्तै परिवारलाई प्राथमिकतामा राखेर काम गरेका छौँ ।’
सरकारी राहत नपुगेको गाउँमा केन्द्रीय सदस्य सिवाकोटीले अस्थायी आवास बनाउन पीडित परिवारलाई भार नपर्ने गरी व्यवस्था गरी निर्माण गरेको बताए । सरकारले अस्थायी आवास तत्काल ५० हजार रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर त्यो रकम पीडितको हातमा अहिलेसम्म पनि पुगिसकेको छैन ।
नेता सिवाकोटीले आफूहरूले पार्टीकै संयन्त्रमार्फतै देश विदेशबाट सहयोग रकम संकलन गरी आवास खडा गरेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार