काठमाडौँ । नेपाल तरूण दलले जाजरकोट भूकम्पपीडितहरूका लागि ७२ वटा अस्थायी आवास बनाइदिएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरूङसहित केन्द्रीय नेताहरूको टोली नै अस्थायी आवास निर्माणका लागि जाजरकोट पुगेको थियो ।
उनीहरूले त्यहाँ नौ दिनसम्म आफैँ खटिएर अस्थायी आवास निर्माणका लागि काम गरे, स्वयम्सेवक परिचालन र समन्वय गरे ।
बुधबारसम्म ७२ वटा अस्थायी आवास निर्माण गरेपछि तरुण दलको टोली काठमाडौँ फिर्ता भएको अध्यक्ष गुरूङले बताए ।
उनका अनुसार तरुण दलले भेरी नगरपालिका वडा नं. १, ३ र ४ का विभिन्न गाउँहरूमा ७२ वटा अस्थायी आवास निर्माण गरी पीडित परिवारलाई हस्तान्तरण गरेको छ । आवास निर्माणका लागि तरूण दलको ५० जनाको टोली खटिएको थियो ।
‘सरकारले भूकम्पपीडितका लागि यहाँ राहत संकलन गरेको छ । तर गाउँमा मान्छेहरू चिसोबाट गुज्रिएर बाँचिरहेका छन्,’ अध्यक्ष गुरूङले भने, ‘सरकारले आवश्यकताअनुसार राहत पु¥याउन सकेको छैन । अस्थायी आवास निर्माण गर्न सकेको छैन ।’
तरुण दलले चलाएको अस्थायी आवास निर्माण अभियानमा सामेल हुन तरुण दलका पूर्वअध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य उदय शमशेर राणा समेत जाजरकोट पुगेका थिए ।
त्यसक्रममा केन्द्रीय सदस्य राजीव विक्रम शाहसहितले समेत अभियानमा सहभागिता जनाए ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सांसद राणाले सरकारले गर्न नसकेको काम तरुण दलले गरेको बताए ।
‘पीडितहरूको अवस्था निकै दुःखदायी रहेछ, अहिले पनि सरकारले जति गर्नुपर्ने थियो, त्यो गरिरहेको छैन,’ उनले भने, ‘हामीले व्यक्तिगत र संस्थागत हिसावले जे जति सक्ने हो, त्योअनुसार पीडितहरूको घाउमा मल्हम लगाउने काम गरेर फर्किएका छौँ ।’
उनले तरुण दलले अन्यहरूको भन्दा व्यवस्थितरुपले काम गरेर आएको दाबी समेत गरे ।
प्रतिक्रिया