मोरङको बेलबारीबाट वन्यजन्तुको चोरीसिकारी आरोपमा एक जना पक्राउ

मंगलबार, २४ पुस २०८०
विराटनगर । वन्यजन्तुको चोरीसिकारीमा संलग्न भएको आरोपमा मोरङको बेलबारीबाट सोमबार साँझ एक जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार लेटाङ नगरपालिका–३ कृतिमानका ५५ वर्षीय टंक माखिम (लिम्बू)लाई पक्राउ गरिएको हो । बेलबारी नगरपालिका–१० स्थित बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो । वन समूहको गस्ती टोलीले नियन्त्रणमा लिएर माखिमलाई प्रहरीको जिम्मा लगाएको हो । प्रहरीका अनुसार उनको साथबाट भरुवा बन्दुकको केप, फलामको छर्रा, २ सय ५० ग्रामजति बारुद, लाइटर, टर्च लाइट, खुकुरी, झोलालगायतका सामान बरामद भएको छ । माखिमसँगै वन्यजन्तुको चोरीसिकारीमा संलग्न अन्य केही व्यक्तिहरु फरार भएको सूचना आएकाले खोजी जारी राखिएको जानकारी प्रहरीले दिएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको छ । माखिमविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरअन्तर्गत खरखजना मुद्दा चलाइने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार