विमान दुर्घटनामा भएको पत्रकार त्रिभुवन पौडेलको निधनप्रति महासंघद्धारा दु:ख व्यक्त

आइतबार, ०१ माघ २०७९
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति उनी बैठकको मिति तय गर्न काठमाडौं पुगेका थिए । जहाजमा सवार ७२ जनामध्ये ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये पौडेलको पनि शव सनाखत भएको नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य भएका थिए। २०७४ मा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा काम गरेका थिए। यता पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा आकस्मिक बैठक बसेको छ । नेपाल पत्रकार महासंघको आकस्मिक बैठकले २०७९ माघ २ गते सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने, १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र भोलिदेखि १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार