दैलेख । सात वर्षीया बालिका बलात्कार घटनाका कसुरदारलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई २५ वर्ष काराबास (जन्मकैद)सँगै ७ लाख रुपैयाँ जरिमाना, १ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति र २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको हो ।
पीडित पक्षले दिएको उजुरीमा गत वैशाख २९ गते बलात्कार गरेको भनी खुलाइएको घटना प्रहरी अनुसन्धान, स्वास्थ्य परीक्षण प्रतिवेदन र अदालती तहकिकातबाट पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सजाय भएको अदालतका स्रेस्तेदार उपसचिव बद्रीप्रसाद लामिछानेले जानकारी दिए ।
पीडित पक्षको उजुरीका आधारमा गुप्तालाई प्रहरीले गएको ३ जेठमा सुर्खेतस्थित घरबाट पक्राउ गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन दैलेख अस्पतालमा गरिएको थियो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २६ जेठमा दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो । अभियोग सम्बन्धमा २७ जेठमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
मंगलबार दैलेख जिल्ला अदालतको इजलासमा पीडित परिवारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गरेका थिए । ‘सोसेक नेपाल’ले पीडितको कानुनी प्रक्रियाका लागि उजुरी गर्ने तथा आवास र स्वास्थ्य उपचारमा दैलेख अस्पतालको ओसीएमसीले सहयोग गरेको थियो ।
प्रतिक्रिया