विराटनगर । पूर्वी तराईमा माओवादीका नाममा चन्दा आतंक मच्चाउने गिरोह मोरङबाट पक्राउ परेको छ ।
माओवादीको नाममा नयाँ समूह खडा गरेर मोरङ, झापा र सुनसरीका निजी विद्यालयमा चन्दा असुली गर्ने गिरोहका २ जना पक्राउ परेका हुन् । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी) महावीर नाम दिएर नयाँ भूमिगत संगठन खडा गरी चन्दा आतंक मच्चाइएको प्रहरीको भनाइ छ ।
उक्त कार्यमा संलग्न इलामको माङ्सेबुङ गाउँपालिका–१ घर गजुरमुखी घर भइ काठमाडौंको भीमसेनगोलामा डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङवरक गाउँपालिका–१ का ३० वर्षीय विपिन अधिकारी पक्राउ परेका हुन् ।
विष्फोटक पदार्थ तथा विभिन्न दस्तावेजसहित पक्राउ परेका उनीहरुलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
मिश्रलाई मोरङको बूढीगंगास्थित नेमुवा र अधिकारीलाई विराटनगरको परोपकार घाटबाट सोमबार पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।
दुवै जनाविरुद्ध विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।
पक्राउ परेकाको साथबाट प्रहरीले विष्फोटक पदार्थमा प्रयोग हुने ७ वटा डेटोनेटर, १८ फिट ३ इन्च लामो डेडकर्ड, सोडा, चन्दा उठाउन प्रयोग गरिने रसिद (काटिएको र नकाटिएको) तथा चन्दा माग गर्दै पठाउने गरिएको पत्र, खाली खाम, मुक्तिनाथ प्रकाशन गृहको प्रेस कार्ड, मोबाइल, सिमकार्ड, डायरी, एसबीआई बैंकको चेकबुक, डिजिटल स्टाम्पलगायत बरामद गरेको छ ।
चन्दा माग गर्दै पठाउने गरिएको पत्रमा महासचिव महावीर भनेर हस्ताक्षर गरिएको छ । तर, महावीर भनिने व्यक्तिका बारेमा प्रहरीले पत्ता लगाइसकेको छैन ।
पक्राउ परेका मिश्र र अधिकारी भने अपराधिक पृष्ठभूमिका व्यक्तिहरु रहेको खुलेको छ । एसपी पोखरेलका अनुसार मिश्रविरुद्ध झापामा २०७६ सालमा विष्फोटक पदार्थ सम्बन्धी ४ वटा मुद्दा चलेको पाइएको छ ।
अधिकारीविरुद्ध पाँचथरमा २०७६ मा अभद्र व्यवहार मुद्दा चलेको उनले बताए । अपराधिक पृष्ठभूमिका दुवै जनाले पछिल्लो समय नयाँ भूमिगत संगठनमा आवद्ध भएर चन्दा आतंक मच्चाइरहेको उनको भनाइ छ ।
पोखरेलले मोरङ, झापा र सुनसरीका निजी शैक्षिक संस्थामा चिट्ठी पठाउँदै चन्दा असुल्ने गरिएको जानकारी दिए । चन्दा नदिए बम विष्फोट गराउने धम्कीसमेत दिने गरेको पाइएको छ ।
पोखरेलका अनुसार महासचिव महावीरको दस्तखत रहेको र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको ‘लेटर प्याड’ प्रयोग गरेर भूमिगत संगठनका नाममा शैक्षिक संस्थाबाट चन्दा असुल्ने गरिएको थियो ।
प्रहरीका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) तथा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बाट अलग भएकाहरुले नेकपा (माओवादी) महावीर समूह खडा गरेको पाइएको छ ।
गत भदौमा खडा गरिएको यो समूहमा अन्य दल छाडेका तथा अयोग्य र असन्तुष्ट लडाकुलाई समेत समेट्ने प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ ।
सुरुमा ३५ सदस्यीय कमिटी गठन गरेर महावीर समूहले आफ्ना गतिविधि गर्न थालेको प्रहरी स्रोतले बतायो । ‘केन्द्रीय कमिटी ३५ सदस्यीय रहेछ । अहिले संगठन विस्तारको क्रममा रहेको पाइयो,’ स्रोतले भन्यो, ‘यसको नेतृत्वकर्ता महावीर भनिएको छ । उनका बारेमा पत्ता लगाउन विस्तृतमा अनुसन्धान थालिएको छ ।’
पक्राउ परेकामध्ये मिश्र महावीर समूहको झापा इन्चार्ज रहेको प्रहरीको भनाइ छ । त्यसअघि उनी नेकपा (बहुमत)का झापा इन्चार्ज थिए । महावीर समूहमा आवद्ध भएका अन्य व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
महावीर समूहले कहाँबाट कति रकम चन्दा उठायोभन्ने प्रहरीले खुलाउन सकिरहेको छैन । एसपी पोखरेलले यस विषयमा अनुसन्धान थालिएको जनाए ।
प्रहरीका अनुसार यो समूहले विद्यालयको स्तर र हैसियत हेरेर चन्दा माग गर्ने गरेको पाइएको छ ।
प्रतिक्रिया