बाख्राको खोरमा परिणत भयो सरकारी विद्यालय

शुक्रबार, ०२ चैत्र २०८०
टीका खतिवडा इलाम -इलामको एक सरकारी विद्यालय बाख्राको खोरमा परिणत भएको छ । इलाम नगरपालिका १२ साङरुम्बा मसारमा रहेको युवा प्रावि बाख्राको खोरमा परिणत भएको हो । बाख्रा बाँध्ने (राख्ने ठाउँ) लाई खोर भनिन्छ । हाल विद्यालय भवनमा बाख्रा राखिएको छ । विद्यालय परिसरमा पनि धेरै बाख्रा बाँधिएको छ । केही कक्षामा बाख्रा बाँधिएको छ भने केही कोठामा बाख्रालाई खुवाउने घाँसहरू समेत राखिएको छ । विद्यालय बन्द भएपछि एक स्थानीयले यसरी बाख्रा बाँधेको जनाइएको छ । विद्यार्थी नभएपछि विद्यालय बन्द भयो । हाल सो क्षेत्रका विद्यार्थी घण्टौँ धाएर अन्यत्र जान बाध्य भएको स्थानीयको भनाई छ । सुरुमा विद्यालय स्थापना गर्न स्थानीयले देउसी भैलो खेलेर शिक्षकलाई तलब खुवाएको स्थानीय वृद्ध रुपादेवी भण्डारीले बताइन् । निकै दुख गरेर स्थापना गरिएको विद्यालय हाल बन्द भएपछि उनी जस्तै धेरै स्थानीय दुखी भएका छन् । हाल सो विद्यालय बन्द भएपछि सक्नेले निजी विद्यालयमा विद्यार्थीलाई पढाएका छन् भने निम्न स्तरका अभिभावकले सोही ठाउँबाट इलाम नगरपालिका ९ भन्ज्याङका विद्यालय र साङरुम्बाकै अमर ज्योति विद्यालयमा बालबालिका पठाउने गरेको बताइएको छ । डेढ घण्टाभन्दा बडी धाएर साना बालबालिका विद्यालय जानु पर्ने बाध्यता रहेको स्थानीय धनमाया थापाले बताइन् । गाउँमा नजिक विद्यालय नभएपछि इलाम बजारमा कोठा भाडा राखेर समेत केहीले नानीहरूलाई पढाउनु पर्ने बाध्यता आएको बताइएको छ । बिहान सात बजे नै विद्यालय भनेर विद्यार्थीहरू जाँदै हुन्छन् बेलुका पनि छ, सात बजे मात्र उनीहरू फिर्ने गरेका छन् । स्थानीय तारा कार्कीले भन्ने । उनीहरूले कति बेला घरको काम गर्छन् कति बेला खान्छन् रु उहाँले प्रश्न गर्दै भने । इलाम नगरपालिका १२ र इलाम ९ नम्बर बिचमा पुवा खोला छ । हिउँदमा खोला तर्न समस्या नरहे पनि बर्खामा समस्या हुने गरेको छ । बिचमा रहेको खोला तर्न सामान्य झोलुङ्गे पुलबाट केही विद्यार्थी आवतजावत गरे पनि बर्खामा सवारीसाधनसँग सम्बन्ध टुट्ने गरेको छ । स्थानीय तह गठन हुनु अघि नै सो विद्यालय बन्द भएको इलाम नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । इलाम नगरपालिका शिक्षा शाखाकी प्रमुख राधिका घिमिरेका अनुसार ७४ साल अघि नै सो विद्यालय बन्द भएकाले नगरपालिकासँग सो विद्यालयको तथ्याङ्क छैन । बिचमा स्थानीयले वाल विकास सञ्चालन गर्ने माग गरेपछि शिक्षकको व्यवस्था गरेको र यही आवमा विद्यार्थी नभएपछि पुन सो विद्यालय बन्द भएको शिक्षा शाखा प्रमुख घिमिरेको भनाई छ । उनका अनुसार इलाम नगरपालिका पाँचमा रहेको देवी आवि समेत यही आर्थिक वर्ष देखी बन्द भएको छ । गएको आर्थिक वर्ष देखी नै इलाम नगरपालिका ३ मा रहेको सिंहदेवी आवि बन्द भएको छ । त्यस्तै इलाम नगरपालिका ७ मा रहेको बाल मन्दिर ७६ सालबाट नै बन्द भएको छ । त्यसो त इलाम नगरपालिका छ मा रहेको दृपादेवी आवि यही शैक्षिक सत्र देखी सञ्चालनमा आएको छ । चार वर्ष अघि बन्द भएको विद्यालय चालु शैक्षिक सत्र देखी सञ्चालनमा आएको हो । विद्यार्थीको सङ्ख्या कमी भएकाले सरकारी विद्यालय बन्द हुँदै गएका छन् । यसको प्रत्यक्ष मारमा निम्न आय भएका जनता परेका छन् । स्थानीय सरकारले कम विद्यार्थी भएका विद्यालय बन्द गर्दै गर्दा रहेका केही विद्यार्थीलाई सुविधा दिन जरुर छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार