इटहरीमा मोटरसाइकल चोर सक्रिय : चोरीमा संलग्न चारजना पक्राउ

सोमबार, ०५ चैत्र २०८०
इटहरी । मोटरसाइकल, स्कुटरसमेतका सवारीसाधन र मोबाइल चोरीमा संलग्न ४ जनालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–८ का २२ वर्षीय आशिष दास, इटहरी उपमहानगरपालिका–४ का गोलमोल भनिने २४ वर्षीय मनिष राई, इटहरी–५ का २७ वर्षीय सन्दीप परियार र इटहरी–१० का २९ वर्षीय उज्वल परियार छन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्की नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु चोरीका अलगअलग घटनामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भिन्दाभिन्दै स्थान र समयमा भएका मोटरसाइकल तथा स्कुटर चोरीमा उनीहरुको संलग्नता देखिएको हो । तीमध्ये मनिषले मोबाइल समेत चोरी गरेको पाइएको प्रहरीको भनाइ छ । पक्राउ परेकाविरुद्ध चोरी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । इटहरी–९ हटिया लाइनका वीरेन्द्रकुमार गुरुङको घरबाट फागुन ३० गते राति को २५ प ४६२० नम्बरको स्कुटर चोरी भयो । खोजी गर्ने क्रममा सन्दीपले चलाइरहेको अवस्थामा स्कुटर फेला पर्यो । उनलाई स्कुटरसहित चैत १ गते राति पक्राउ गर्न प्रहरी सफल भयो । इटहरी–४ ध्रवतारा टोलका डिकबहादुर राईको घरबाट फागुन २९ गते बिहान को ३२ प ६८२८ नम्बरको मोटरसाइकल चोरी भयो । घरमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी भएपछि खोजी तीव्र बनाएको प्रहरीले उज्वलाई पक्राउ गरेको हो । चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा चैत १ गते राति मोटरसाइकलसहित प्रहरीले उनलाई इटहरी–८ गैसारबाट पक्राउ गरेको थियो । मोटरसाइकल उज्वलले नै चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इटहरी–६ शेयर एण्ड कियर मेडिकल सेन्टरअगाडि पार्किङ गरेर राखिएको को ६ प ६३७७ नम्बरको मोटरसाइकल फागुन २८ गते दिउँसो ४ः३० बजेतिर चोरी भएको थियो । इटहरी–६ का ईश्वरकुमार विष्टको उक्त मोटरसाइकल चोरी गरेर लैजाँदै गर्दा त्यही दिन आशिष पक्राउ परेका हुन् । प्रहरीले उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । इटहरी–४ मा डेरा बस्ने सुनीलकुमार यादवको कोठाबाट फागुन १८ गते राति २ वटा मोबाइल चोरी भयो । दुवै मोबाइल गोलमोल भनिने मनिषले चोरी गरेको प्रहरीले यकिन गर्यो । उनले विराटनगरबाट प्रदेश १–०२–०४६ प ५६५६ नम्बरको मोटरसाइकलसमेत चोरेर इटहरी ल्याएको प्रहरीले पत्ता लगाएको छ । मनिषलाई चोरीको मोबाइल र मोटरसाइकलसहित पक्राउ गर्न प्रहरी सफल भएको छ । ‘चोरीमा संलग्नहरुको संगठित गिरोह छैन । चोरीका छुट्टाछुट्टै घटनामा उनीहरु संलग्न छन्,’ डीएसपी कार्कीले भने, ‘उनीहरु बीचमा कुनै ‘कनेक्सन’ पनि हालसम्म देखिएको छैन । व्यक्तिगत हिसाबले मोटरसाइकल, स्कुटर र मोबाइल चोरी गरेको देखिन्छ ।’ उनका अनुसार पक्राउ परेकाको विगतसमेतलाई ध्यानमा राखेर अनुसन्धानको दायरा फराकिलो पारिएको छ । ‘विगतमा समेत चोरी वा अरु कुनै अपराधमा संलग्न छन् कि भनेर विभिन्न कोणबाट अनुसन्धान गर्ने काम भइरहेको छ,’ कार्की भन्छन्, ‘पछिल्लो समय सवारीसाधन चोरी हुने क्रम बढेपछि प्रहरीको सक्रियता पनि बढाइएको छ ।’ अनुसन्धानबाट प्राप्त प्रमाण र सूचना तथा पक्राउ परेकाबाट खुलेको विवरणलाई आधार बनाएर चोरी नियन्त्रणका लागि थप कदम चालिने उनको भनाइ छ । उनका अनुसार इटहरीबाट चोरी गरिएका मोटरसाइकल र स्कुटर जोगवनीलगायतका भारतीय बजारसम्म पुर्याएर बिक्री गर्ने गरिएको छ । भारत पुर्याएर चोरीका सवारीसाधन बेच्ने गिरोह नै सक्रिय छ । गिरोहको सञ्जाल भत्काउन र चोरीमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले मिहिनेत  गरिरहेको डीएसपी कार्कीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार