काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद्हरूले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समिति बनाउन माग राखेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्रीमाथि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नताबारे छानबिन गर्नका लागि समिति गठन गर्न कांग्रेसले माग राखेको हो ।
कांग्रेसको सोही मागका विषयमा यतिबेला संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता र प्रतिपक्षीय दलका सांसद्हरूको छलफल जारी छ ।
सोही कारण आज ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक यतिबेलासम्म पनि सुरु हुन सकेको छैन । आजको बैठकमा प्रधानमन्त्री दाहालले संसदमा उठेका सवालमाथि जवाफ दिने तय भएको थियो ।
हालै गृहमन्त्री बनेका लामिछानेले पद तथा गोपनीयताको शपथ लिएर संसद् भवन छिरेदेखि नै अनुसन्धानको दायरमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ ।
शुक्रबारको बैठकमा पनि कांग्रेसका सांसद्ले अवरोध गरेका कारण नयाँ गठबन्धन बनाएर आएको सरकार प्रभावित भएको छ ।
सहकारी रकम हिनामिना प्रकरणमा मुछिएको भन्दै रविलाई उपप्रधान तथा गृहमन्त्री पदबाट हटाउनुपर्ने माग प्रधानमन्त्रीसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको छ ।
गत शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै उनलाई रोस्ट्रममा जान लाग्दा अवरोध गरेको थियो।
हिजोको संसद् बैठकमा कांग्रेस सांसद् गगनकुमार थापाले सुन प्रकरणमा मुछिएका पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यावाद दिँदै रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने बताएका थिए ।
थापाले लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौँ रुपैयाँ ठग्ने अरु सय जनाले पनि उन्मुक्ति पाउने बताएका थिए ।
पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा रविको संलग्नताका विषयमा छानविन हुनुपर्ने कांग्रेसको माग रहँदै आएको छ ।
सरकारी प्रकरणमा रविका पूर्वसहकर्मी जिवि राई फरार छन् । सूर्यदर्शनले रवि, जिवीलगायत १८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको छ ।
यता, सत्तापक्षीय दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने रविले कांग्रेससँग गठबन्धन नगरेका कारण कांग्रेसले आक्रोश पोखेको तर रवि निर्देष रहेको अभिव्यक्ति दिएका छन् ।
मंगलबार धनगढीमा संचारकर्मीसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।
प्रतिक्रिया